गरिबी घटे पनि ग्रामीण-सहरी क्षेत्रबीचको खाडल कायमै
बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
223
Shares
काठमाडौँ । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझै कायम रहेको देखिएको छ ।
अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो ।
नेपाल जीवनस्तर सर्वेक्षण २०७८/७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत छ । शहरी क्षेत्रमा गरिबी दर १८.३४ प्रतिशत रहे पनि ग्रामीण क्षेत्रमा भने २४.६६ प्रतिशत छ । यसले ग्रामीण जनसंख्यामा अझै पनि आर्थिक अवसर र पूर्वाधारको अभाव रहेको संकेत गर्छ ।
यसैगरी, बहुआयामिक गरिबीको दर पनि १७.४ प्रतिशत छ, जसमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकहरू समेटिएका छन् । आर्थिक स्थिति पत्रमा उल्लेख छ, ‘ग्रामीण क्षेत्रमा बहुआयामिक गरिबी अझ बढी देखिएको छ, जसले आधारभूत सेवामा असमान पहुँच रहेको देखाउँछ ।’
बेरोजगारीतर्फ हेर्दा नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । महिलामा बेरोजगारी दर १२.३ प्रतिशत छ भने पुरुषमा ९.१ प्रतिशत मात्रै रहेको छ ।
१५-२४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १८.९ प्रतिशत छ, जसले युवा वर्गमा रोजगारीको अभाव गम्भीर समस्याका रूपमा रहेको देखाउँछ ।
लैङ्गिक समानताको क्षेत्रमा पनि प्रगति भए पनि असमानता अझै देखिन्छ । मानव विकास प्रतिवेदन २०२३/२४ अनुसार लैङ्गिक असमानता सूचकांक ०.४७८ रहेको छ ।
महिलाको श्रमशक्ति सहभागिता दर २६.४ प्रतिशत मात्र रहेको छ भने पुरुषको ७६.२ प्रतिशत छ भने महिलाको औसत आम्दानी पनि पुरुषको तुलनामा कम रहेको देखिएको छ ।
विशेषज्ञहरूका अनुसार गरिबी घट्दै जानु सकारात्मक संकेत भए पनि ग्रामीण विकास, रोजगारी सिर्जना र लैङ्गिक समानता प्रवद्र्धनमा थप प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक रहेको छ ।