arrow

नेपालको अर्थतन्त्रलाई सय अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिन्छ : पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
birendra-panday-24-12.jpg

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा ‘अर्थको अर्थ’ कार्यक्रमको ३३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले यसका लागि स्पष्ट प्रतिबद्धता र मार्गचित्र तयार पारिरहेको बताए।

पाण्डेले पहिलो चरणको आर्थिक सुधारपछि केही प्रगति भए पनि समयक्रमसँगै दोस्रो पुस्ताको सुधार हुन नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए।

उनका अनुसार उद्योग, उत्पादन र रोजगारी सिर्जनाका लागि कम्तीमा १० वर्षसम्म नीतिगत स्थिरता आवश्यक छ।

उनले लगानीकर्तालाई विश्वासमा लिन पूर्वानुमानयोग्य नीति र दीर्घकालीन दृष्टिकोण महत्वपूर्ण हुने उल्लेख गरे।

सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस बनाउनुपर्नेमा उनले जोड दिए। साथै, अनलाइन एकद्वार प्रणाली विकास गरी स्थानीय तहसम्म लागू गर्नुपर्ने बताए।

उनले कर प्रणालीमा व्यापक सुधार गर्दै सीमित प्रकारका कर मात्र रहने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए।

एकीकृत कर संकलन प्रणालीमार्फत राज्यले कर उठाउने र विभिन्न तहमा बाँडफाँड गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष पाण्डेले अनधिकृत व्यापार र चोरी पैठारीले स्वदेशी उद्योग र राजस्व दुवैमा असर पारेको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायबीच समन्वय र कडाइ आवश्यक रहेको बताए।

उनले पुराना तथा असान्दर्भिक कानून खारेज गरी नयाँ र समयअनुकूल कानुन निर्माण गर्नुपर्ने उल्लेख गरे।

व्यवसायिक कसुरमा व्यवसायीलाई अनावश्यक रूपमा थुनामा राख्ने अभ्यासले लगानी वातावरणमा त्रास सिर्जना गरेको भन्दै सुधार आवश्यक रहेको उनको धारणा थियो।

पाण्डेले यस्ता सुधारहरू कार्यान्वयन भएमा लगानीमैत्री वातावरण निर्माण हुने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ