arrow

नेपालको विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्यको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
nepal-findland-edution.jpg

काठमाडौँ । नेपाल सरकारले विद्यालय शिक्षाको गुणस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यले फिनल्यान्ड सरकारसँग उच्चस्तरीय सहकार्यको प्रस्ताव अघि सारेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा उक्त प्रस्ताव राखिएको 

हो। मन्त्री पोखरेलले फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै सर्वोत्कृष्ट र उच्च गुणस्तरको मानिने भएकाले नेपालको शैक्षिक सुधारका लागि त्यहाँको अनुभव, पद्धति र विज्ञता निकै उपयोगी हुने विश्वास व्यक्त गरे। उनले नेपालको समग्र विकास र विशेष गरी शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप फराकिलो साझेदारीको अपेक्षा गरे।

भेटका क्रममा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्डले गर्दै आएको प्राविधिक तथा वित्तीय सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए। हाल नेपालमा फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ जस्ता महत्त्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेका छन्। 

नेपाल सरकारले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा राजदूतले फिनल्यान्डको अटिजम र समावेशी शिक्षामा लामो विज्ञता रहेकाले यस क्षेत्रमा सहकार्य गर्न आफ्नो देश इच्छुक रहेको जानकारी दिए।

यसका साथै राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ अर्थात् डिजिटल रूपान्तरणको एजेन्डामा समेत फिनल्यान्डको प्रविधि र अनुभवका आधारमा साझेदारी गर्ने इच्छा व्यक्त गरे। 

शिक्षामन्त्री र राजदूतबीचको यो छलफलले दुई देशबीचको कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालको सार्वजनिक शिक्षा प्रणालीमा आधुनिक, प्रविधिमैत्री र समावेशी शिक्षण पद्धति भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायताको प्रभावकारी परिचालन र शिक्षा क्षेत्रमा दीर्घकालीन साझेदारीका विविध आयामबारे समेत विस्तृत चर्चा भएको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ