कम विवादमै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
598
Shares
काठमाडौँ । चार वर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सङ्गठन प्रमुखको छडी र सङ्गठनको झण्डा हस्तान्तरण गरे । सोही अवसरमा अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरे ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा सङ्गठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे ।
सङ्गठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरू भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै उनले राष्ट्र, सङ्गठन र जनताको सुरक्षासँगै मातहत कर्मचारीको हितलाई सर्वोपरी राखी आफूले काम गरेको बताए ।
त्यस अवसरमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सङ्गठनमा स्थापित मूल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक र जनउत्तरदायी सङ्गठनका रुपमा निरन्तर अघि बढाइने बताए ।
कम विवादमै कार्यकाल पूरा गरे अर्यालले
अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा गएका हुन् । ३० वर्षे सेवा अवधिअनुसार अझै दुई वर्ष कार्यकाल बाँकी रहे पनि चार वर्षे कार्यकालबाट अर्याल शुक्रबारदेखि बिदा भएका हुन् । यो चार वर्षे कार्यकालमा अर्याल खासै विवादमा परेनन् । संगठन भित्रका केही सानातिना असन्तुष्टि र जेन-जी आन्दोलनका क्रममा उनलाई विवादमा पारिए पनि व्यक्तिगत रूपमा उनी कम विवादित रहे ।
लामो कार्यकाल हुँदा काम गर्न सहज भए पनि विवादमा फस्ने जोखिम बढी हुन्छ । अर्याल त्यस्ता भाग्यमानी सशस्त्र प्रमुख हुन् जो विवादमा फसेनन् । उनी सधैँ भन्ने गर्थे - संगठन प्रमुख अभिभावक हो तर सबैको सामूहिक छलफल र निर्णयबाट काम गर्नुपर्छ।’
उनले २०७९ बैशाख १९ गते सशस्त्र प्रमुखको कमान्ड सम्हालेका थिए । उनले चार वर्षमा सामूहिक निर्णयको विषयलाई प्राथमिकता दिँदै व्यवहारमा उतारे । हरेक ठूला र नीतिगत विषयहरूमा प्रहरी वरिष्ठ अधिकृतहरूसँग छलफल गरेर निर्णय गरेकै कारण उनी कम विवादित भए ।
अर्याल आर्थिक विवादमासमेत परेनन् । उनले गत फागुन २१ गते सम्पन्न निर्वाचन सफल गराउन पनि महत्वपूर्ण भूमिका खेले । दोस्रो घेरामा रहेर सशस्त्रले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्यो ।
अर्यालकै कार्यकालमा २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचन पनि शान्तिपूर्ण नै थियो ।
अर्यालको कार्यकालमा संगठनको कामकारबाहीलाई व्यवस्थित गर्न कार्यविधि, निर्देशिका, मापदण्ड, स्थायी आदेश र कार्ययोजना गरी १०९ ओटा जारी गरेर लागू गरिएको थियो । उनले कर्मचारीको वृत्ति विकासका लागि नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी बढुवा गरेका थिए ।