एकल महिलामाथि बियरको बोतलमा मानव मल-मूत्र घोलेर खुवाइयो, एक जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
465
Shares
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकामा ५५ वर्षीया एक एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मल-मूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका-९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका हुन्।
आक्रमणकारीहरूले महिलालाई गालीगलौज गर्दै बियरको बोतलमा घोलेको मानव मल-मूत्र जबरजस्ती खुवाएको पीडितले बताएकी छन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरेको थियो। उनलाई तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, यस अमानवीय कार्यमा संलग्न रहेको आरोपमा कटहरिया-९ बस्ने ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।
नेपालको कानुनले बोक्सीको आरोपमा गरिने यस्ता दुर्व्यवहारलाई गम्भीर अपराध मानेको छ। स्थानीय प्रशासनले यो जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।