arrow

दर्ज्यानी चिन्ह सुशोभन

दर्ज्यानी चिन्ह पाएपछि के भने सशस्त्रका महानिरीक्षक पौडेलले ? [भिडियो]

सशस्त्र प्रहरीलाई 'स्मार्ट र मिसन रेडी फोर्स' बनाउने महानिरीक्षक पौडेलको प्रतिवद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
narayan-dutta-poudel-apf.jpg

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

सोमवार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उनले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताएका हुन्। सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै उनले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सारेका छन्। 

सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) हरूको विस्तार, रणनीतिक तैनाथी र छिमेकी मुलुकका सुरक्षा निकायहरूसँग व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरे।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङमा रहेका तालिम शिक्षालयहरूको सुदृढीकरण गर्ने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापनाका लागि पहल गर्ने महानिरीक्षक पौडेलको योजना छ। साथै, सशस्त्र प्रहरीको स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उनले बताए। 

संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्वन गरिने स्पष्ट पार्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली, निष्पक्ष सरुवा–बढुवा र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गरिने प्रतिवद्धता व्यक्त गरे। सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका र कल्याणकारी कार्यहरूलाई प्राथमिकता दिँदै आन्तरिक गुनासोहरूलाई आन्तरिक रूपमै सम्बोधन गर्ने संयन्त्रलाई सुदृढ बनाइने उनको भनाइ छ।

नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीको प्रभावकारी कार्यान्वयन र जनभावनाअनुसार जनताको जीउधनको सुरक्षा सुनिश्चित गर्न आफू इमान्दारिता, निष्ठा र निष्पक्षताका साथ लाग्ने उनले बताए। अग्रजहरूले सुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट व्यक्त गर्दै उनले नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी संगठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ