arrow

खण्डहरमा परिणत भ्यू टावर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
view-tower-ramechhap.jpg

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-५ गोगनपानी सुलीथुम्कामा निर्माण गरिएको भ्यू टावर सहितका संरचनाको प्रयोग र संरक्षण नहुँदा नष्ट भएका छन् ।

वाग्मती प्रदेश सरकारले सो प्रदेशका ११ ओटा जिल्लामा एक साथ ११ ओटा भ्यू टावर बनाएको थियो । तिनै मध्येको खाँडादेवीको भ्यू टावर पनि एक हो ।

२०७७ सालमा निर्माण सम्झौता भएर ०७८ सालमा निर्माण भएको भ्यू टावरलगायतका संरचना निर्माणको लागि तीन करोड २० लाख ६० हजार आठ सय ५१ रुपैयाँ खर्च भएको थियो ।

भ्यू टावरसम्म पुग्ने पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर, कार्यालय भवनलगायतका संरचना निर्माण भएका थिए ।

यसरी बनिसकेको संरचना सञ्चालनमा नआउँदा अहिले बेवारिसे बनेको छ । त्यति ठूलो लगानीमा बेनका संरचना धेरै नष्ट भइसकेका छन् । प्रवेश गेटमा रहेको टिकट घरका झ्याल ढोका फोरिएका छन् ।

शौचालयका झ्याल ढोका फोर्नुका साथै धारा र बेसिनहरू समे तोडफोड गरिएको छ । त्यस्तै कार्यालय भवनका पनि झ्याल ढोकाहरू फोरिएका छन् ।

भ्यू टावरका समेत झ्याल ढोकाहरू तोडफोड गरिएको छ भने छानो उडाएर पानी चुहिने भएको छ । सबै संरचनाहरू क्रमशः खण्डहर बन्दै गएका छन् ।

वाग्मती सरकारको तत्कालीन उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले सो भ्यू टावर निर्माण गरेको थियो । त्यसको सञ्चालन वा हस्तान्तरणसम्बन्धी स्पष्ट कार्यविधि नहुँदा टावर सञ्चालन वा हस्तान्तरण हुन सकेको छैन ।

भ्यूटावर प्रदेश सरकार आफैँले सञ्चालन गरेको पनि छैन र स्थानीय तहलाई हस्तान्तरण गरेको पनि छैन । त्यसको संरक्षणका लागि दुवै तहका सरकारले कुनै चासो दिएका छैनन् ।

प्रदेश सरकारले अलपत्र छाडेका संरचनालाई जोगाइ राख्ने स्थानीय सरकारको रूपमा रहको खाँडादेवी गाउँपालिकाले पनि कुनै चासो देखाएको छैन ।

गाउँपालिकाले आफ्नो भूमिमा बनेका ती संरचनालाई रेखदेख र संरक्षणको सामान्य व्यवस्था मिलाएको भए पनि प्रयोगमा नै नआई ती संरचना नष्ट भएर जाने थिएनन् । यसमा स्थानीय तहले समेत विवेक पुर्याएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ