विज्ञहरूको लाइसेन्स खारेज गर्ने निर्णयप्रति एनआरएनएको आपत्ति, तत्काल फिर्ता लिन माग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
312
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा कार्यरत ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति कडा आपत्ति जनाएको छ। एनआरएनएले यो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गर्दै यसले विदेशमा रहेका नेपाली विज्ञहरूको मनोबल गिराएको बताएको छ।
संघका प्रवक्ता सोमनाथ सापकोटाले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिलको यो कदम विदेशमा रहेका नेपालीहरूको दक्षता र लगानीलाई मुलुकको समृद्धिमा उपयोग गर्ने राज्यको नीति विपरीत रहेको उल्लेख गरे। संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा केवल बसोबासको आधारमा पेशागत पहिचान र लाइसेन्स खोस्नु न्यायोचित नभएको संघको ठहर छ।
प्रवक्ता सापकोटाका अनुसार चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग कुनै समन्वय, परामर्श वा पूर्वजानकारी दिइएको छैन। प्रक्रियागत पारदर्शिता बिना गरिएको यो निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्यमा मात्र नभई विदेशमा रहेका सम्पूर्ण नेपाली विशेषज्ञ समुदायमा नकारात्मक प्रभाव पारेको छ।
सापकोटाले भने, "हामी भूगोलको हिसाबले बाहिर भए पनि समृद्ध नेपाल निर्माणको अभियानमा जोडिन चाहन्छौँ। तर राज्यका यस्ता निर्णयले विज्ञहरूलाई निरुत्साहित गर्छ र राज्यको 'स्किल एन्ड नलेज ट्रान्सफर' गर्ने नीतिमा ठेस पुर्याउँछ।" एनआरएनएले मानव सेवासँग जोडिएका ३३ जना विज्ञ चिकित्सकहरूको लाइसेन्स खारेजीको निर्णय सच्याउन र आगामी दिनमा यस्ता निर्णय गर्दा सम्बन्धित पक्षसँग संवाद गर्न सरकारलाई सुझाव दिएको छ।