arrow

उच्च शिक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा शैक्षिक कर्जा लिनेको माग बढ्दो 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
Rastriya-Banijya-Bank.jpg

काठमाडौँ । विविध व्यक्तिगत आवश्यकता पूरा गर्न राष्ट्रिय वाणिज्य बैंकले विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । 

बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् । 

उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक फरक रहेको जानकारी दिए । 

हाललाई बैंकले विभिन्न १० शीर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउँदै कर्जा प्रमुख पौडेलले विद्यार्थीका लागि पनि कर्जाको व्यवस्था गरेको जानकारी दिए । 

उनका अनुसार स्वदेश तथा विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि वाणिज्य बैंकले शैक्षिक कर्जाको व्यवस्था गरेको छ । 

के चाहिन्छ शैक्षिक कर्जाका लागि कागजात ?

यस्तो कर्जाको लागि विद्यार्थीले पढ्न चाहेको कलेज वा विश्वविद्यालयबाट आवेदन स्वीकृत भएको प्रमाणपत्र (अफर लेटर), विदेशमा पढ्ने भए नेपाल सरकारबाट जारी एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) र हालसम्म हासिल शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बैंकमा बुझाउनु पर्दछ । 

त्यस्तै नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, कर्जाको लागि प्रस्तावित धितो सम्बन्धी कागजातहरू र कर्जा भुक्तानी गर्ने आयश्रोत खुल्ने कागजातहरू साथ विद्यार्थीको अविभावकले नजिकको यस बैंकको शाखा कार्यालयमा गई आवेदन दिनुपर्नेछ ।

कसरी पाइन्छ कर्जा ?

ग्राहकले बुझाउनुपर्ने सम्पूर्ण कागजातहरूको परीक्षणपछि पढाईसँग सम्बन्धित लाग्ने कुल खर्चको ८० प्रतिशतमा नबढ्ने गरी ग्राहकको कर्जा भुक्तानी गर्ने आयश्रोत र धितो सुरक्षणले खामेसम्म रु.१ करोडसम्मको शैक्षिक कर्जा स्वीकृत गरिने कर्जा प्रमुख पौडेलले बताए । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पूरा भएको अवस्थामा अधिकतम ३ कार्यदिनभित्र यस्तो कर्जा स्वीकृत हुनेछ र कर्जा स्वीकृतिको जानकारी (लोन अफर लेटर) ग्राहकलाई प्रदान गरिनेछ । 

यस्तो अफर लेटरको आधारमा विद्यार्थीले भिसा स्वीकृतिको लागि सम्बन्धित देशको राजदूतावासमा आवेदन गर्न सक्नेछन् । 

भिसा स्वीकृतिको ण्लागि कलेज वा विश्वविद्यालयलाई शिक्षण शुल्क वापतको पहिलो किस्ता पठाउनुपर्ने भएमा बैंकले धितो रोक्का गर्ने लगायतका प्रकृयाहरू पूरा गरी कर्जा रकम ग्राहकको खातामा जम्मा गरिदिने र सम्बन्धित कलेज वा विश्वविद्यालयलाई पठाइदिने कार्य गर्दछ ।

कर्जा चुक्ता कसरी गर्ने ?

शैक्षिक कर्जाको भुक्तानी अवधि बैंकले हाललाई अधिकतम १० वर्ष कायम गरेको  छ । स्वीकृत कर्जा रकम सम्पूर्ण प्रवाह भइसकेपछि मासिक समान किस्तामा कर्जाको भुक्तानी शुरू हुनेछ । 

सम्पूर्ण कर्जा प्रवाह नभएसम्म ग्राहकले उपभोग गरेको कर्जा रकमको बैंक नियमानुसारको व्याजमात्र भुक्तानी गर्नुपर्नेछ । यस कर्जाको वार्षिक ब्याजदर बैंकको विद्यमान आधारदरमा अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गरी कायम गरिन्छ । 

हाल यस्तो व्याजदर ४ दशमलव २५ प्रतिशत रहेको छ । त्यसमा २ प्रतिशत प्रिमियम थप गर्दा ६.२५ प्रतिशत हुन आउँछ । आधारदर परिवर्तन हुँदा यो दरमा पनि परिवर्तन हुन सक्ने कर्जा प्रमुख पौडेलले बताए । 

विद्यार्थीले कलेज वा विश्वविद्यालय परिवर्तन गर्न चाहेमा नयाँ कलेज वा विश्वविद्यालयको (अफर लेटर) र सो कलेज वा विश्वविद्यालयमा पढ्न जान नेपाल सरकारले दिएको स्वीकृतिपत्र एनओसी साथ निवेदन दिएमा बैंकले कलेज वा विश्वविद्यालय परिवर्तनको स्वीकृति प्रदान गर्न सक्नेछ ।
 
यस्तो कर्जा ग्राहकले अविधि समाप्त नहुँदै चुक्ता गर्न चाहेमा १ वर्षपछि लिखित रूपमा निवेदन दिई उपभोग गरेको बाँकी कर्जा सम्पूर्ण रूपमा जम्मा गरी कर्जा चुक्ता गर्न सक्नेछन् । 

विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि यस्तो कर्जा आवश्यक भएकाले हाल यस बैंकमा शैक्षिक कर्जाको माग उच्च रहेको कर्जा प्रमुख पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ