सरकारका पूर्व कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको विशेष ऋण, यस्तो छ पेन्सन कर्जा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
724
Shares
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सरकारी पूर्व कर्मचारीका लागि विशेष कर्जा ल्याएको जनाएको छ । नेपाल सरकार, सार्वजनिक संस्थान, प्रतिष्ठान, परिषद् लगायतका सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारीहरूको लागि बैंकले पेन्सन कर्जाको व्यवस्था गरेको हो ।
विविध व्यक्तिगत आवश्यकता पूरा गर्न वाणिज्य बैंकले विभिन्न प्रकारका आकर्षक कर्जाहरू उपलब्ध गराउँदै आएकामा पेन्सन कर्जा पनि रहेको छ ।
बैंकका उपभोक्ता कर्जा विभाग प्रमुख भोलानाथ पौडेलले कुनै पनि प्रकारका व्यक्तिगत आवश्यकता पूर्ति गर्नका लागि विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिएका हुन् ।
उनले कर्जाको प्रकृति हेरेर विभिन्न कर्जाको ऋण रकम, त्यसको अवधि र ब्याजदर भने फरक– फरक रहेको जानकारी दिए ।
हाललाई बैंकले विभिन्न १० शीर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउँदै कर्जा प्रमुख पौडेलले अवकाशप्राप्त कर्मचारीका लागि पनि कर्जाको व्यवस्था गरेको जानकारी दिए ।
कसले लिन पाउँछन् पेन्सन कर्जा ?
नेपाल सरकार, सार्वजनिक संस्थान, प्रतिष्ठान, परिषद् लगायतका सरकारी सेवाबाट अवकाश प्राप्त भएका भएका पूर्व कर्मचारीहरुको लागि बैंकले पेन्सन कर्जाको व्यवस्था गरेको हो ।
यस्तो कर्जाको अधिकतम सीमा १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १० वर्षभित्रमा यस्तो कर्जा चुक्ता गरिसक्नुपर्नेछ ।
तर पेन्सनरको उमेर ६५ वर्ष पूरा भएमा यस्तो कर्जा लिन योग्य हुनेछैन । यस प्रकारको कर्जाको लागि ग्राहकले यस बैंकमा पेन्सन जम्मा हुने खाता सञ्चालन गरेको हुनुपर्नेछ ।
उक्त खातामा जम्मा भएको रकमको आधारमा यस्तो कर्जा प्रवाह गरिने हुनाले अतिरिक्त धितोका आवश्यकता नपर्ने कर्जा प्रमुख पौडेलले बताए ।
के छन् कर्जा लिने सर्तहरू ?
कर्जाको जमानतको रुपमा परिवारका सदस्यहरूको व्यक्तिगत जमानत अनिवार्य रहेको हुन्छ ।
साथै कर्जाको भुक्तानीको लागि मासिक प्राप्त हुने पेन्सन रकमको आधा (५० प्रतिशत) ले किस्ता तिर्न पुग्ने गरी कर्जा सीमा स्वीकृत गरिने कर्जा प्रमुख पौडेलले जानकारी दिए ।
कति छ ब्याजदर ?
पेन्सन कर्जा सेवा निवृत भई स्वरोजगार हुन चाहने पेन्सनरहरुको लागि उपयोगी कर्जा हो ।
यस्तो कर्जा प्रशोधनको समय छोटो हुने हुनाले तत्काल वित्तीय आवश्यकता पूरा गर्न सहयोगी हुन्छ ।
यस्तो कर्जामा लाग्ने ब्याजदर बैंकको आधारदरमा २ प्रतिशत प्रिमियम थप गरी वार्षिक व्याजदर कायम गरिएको कर्जा प्रमुख पौडेलले बताए ।
हालको आधार दर अनुसार यस्तो कर्जाको वार्षिक ब्याजदर ६.२५ प्रतिशत रहेको उनले जानकारी दिए ।