अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ लागू, अब अनलाइनबाटै आवेदन ट्रयाक गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
792
Shares
काठमाडौँ । अध्यागमन विभागले आफ्नो सेवालाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै ‘डिजिटल टाइम कार्ड’कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियाहरूलाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच यो सेवाको औपचारिक शुभारम्भ गरिएको हो।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधारसम्बन्धी घोषणाअनुसार नै यो प्रणाली सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
शुभारम्भ कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको 'रियल टाइम' जाँच गरी कार्य सम्पन्न हुन लाग्ने अनुमानित समयबारे पारदर्शी जानकारी दिन यो प्रणाली ल्याइएको बताए। अब कुनै पनि नागरिकले आफूले लिन चाहेको सेवाको अवस्था बुझ्न कार्यालयमै धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने उनले दाबी गरे।
महानिर्देशक तिवारीले डिजिटल टाइम कार्ड लागू भएसँगै विभागमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी र जबाफदेहिता थप सुदृढ हुने विश्वास व्यक्त गरे।
"सेवाग्राहीले विभागबाट एप्लाई गरेको जुनसुकै सेवाको स्टाटस (अवस्था) के छ र त्यो काम सकिन अब कति समय लाग्छ भन्नेबारे तुरुन्तै जानकारी पाइने भएकाले यसले सेवाग्राहीको समय बचत गर्नेछ। यसका साथै विभागमा कार्यरत कुन कर्मचारीले कति काम गरे र कति जनालाई सेवा दिए भन्ने कोणबाट समेत प्रशासनिक रूपमा निगरानी गर्न सजिलो हुनेछ," महानिर्देशक तिवारीले भने।
विभागका अनुसार यो सेवा उपयोग गर्न निकै सहज बनाइएको छ। department का प्रत्येक शाखाका प्रतिक्षालय (वेटिङ रुम) हरूमा क्युआर कोडहरू राखिएका छन्। सेवाग्राहीले उक्त क्युआर कोड स्क्यान गरेर आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी सहजै ट्र्याक गर्न सक्नेछन्। यो व्यवस्थाले अध्यागमनको सेवा प्रवाहमा हुने ढिलासुस्ती र बिचौलियाको चलखेललाई समेत नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।