अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न संरचनात्मक सुधार आवश्यक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
595
Shares
काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूलाई दया र करुणाको दृष्टिले होइन, क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा र राजनीतिक सहभागिता प्रवर्द्धन’ विषयक कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसदहरूले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता तथा गाउँसम्म अपाङ्गमैत्री संरचना विस्तार गर्न आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानसहित समाजमा सहभागी गराउनुपर्ने बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरू संवेदनशील समुदाय भएकाले उनीहरूलाई प्रोत्साहन, सहभागिता र क्षमता विकासमार्फत अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, “अपाङ्गता भएका व्यक्तिहरू निकै संवेदनशील हुन्छन् । उनीहरूलाई प्रोत्साहन गर्ने, सहभागी गराउने र उत्साहित गर्ने यस्ता कार्यक्रम आवश्यक छन्। सहभागिता मानिसलाई अगाडि बढाउने आधार हो, तर सहभागितामात्र पर्याप्त हुँदैन । क्षमता विकास, पहुँच विस्तार र अवसर सुनिश्चित गर्न पनि उत्तिकै जरुरी छ ।”
ज्वालाले सरकार र राज्यका संरचनामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता भए उनीहरूले आफ्ना समुदायका समस्या प्रभावकारी रूपमा उठाउन सक्ने बताए ।
उनले सहभागिता, क्षमता विकास र पहुँच विस्तारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै, सांसद केपी खनालले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताए ।
उनले अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया र करुणाको पात्रका रूपमा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनीहरूको क्षमता र सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
खनालले गाउँ र सहरबीच अपाङ्गमैत्री पूर्वाधार विकासमा ठूलो असमानता रहेको उल्लेख गर्दै गाउँ क्षेत्रमा अझै पनि अपाङ्गमैत्री सडक, भवन र सार्वजनिक संरचनाको अभाव रहेको बताए ।
उनले भने, “अपाङ्गता भएका व्यक्तिहरू केवल दयाका पात्र होइनन् । उहाँहरूको क्षमता प्रस्तुत गर्ने अवसर पनि आवश्यक छ । जबसम्म समाजले उहाँहरूलाई समान क्षमता भएका नागरिकका रूपमा हेर्न सक्दैन, तबसम्म हाम्रो बहस व्यवहारमा रूपान्तरण हुन सक्दैन ।”
खनालले आफूले बाल्यकालदेखि गाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको दृष्टिले मात्र हेरिएको देखेको अनुभव सुनाउँदै अबको पुस्तालाई सचेत बनाउँदै समाजको सोच परिवर्तन गर्न आवश्यक रहेको बताए ।