अध्यक्ष ओलीको राजीनामा माग र नेतृत्वको टकरावले तात्तियो एमाले वृत्त
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
2.9k
Shares
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा पुगेको छ। शनिबार अध्यक्ष केपी शर्मा ओलीकै निवासमा बसेको बैठकमा पार्टीका शीर्ष पदाधिकारीहरूले वर्तमान नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै अध्यक्षको राजीनामा समेत माग गरेका छन्।
बैठकमा आफ्नो धारणा राख्ने क्रममा एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीको राजीनामा माग गरेका छन्। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार भट्टराईले अध्यक्ष ओलीलाई लक्षित गर्दै भनेका छन्, “अब तपाईंबाट पार्टी चल्दैन। राजीनामा दिनुस्।” यसअघि शुक्रबारको बैठकमा पनि चार जना उपाध्यक्षहरूले ओलीलाई घुमाउरो भाषामा 'मार्गप्रशस्त' गर्न आग्रह गरिसकेका छन्।
त्यस्तै पार्टीका महासचिव शङ्कर पोखरेलले पनि वर्तमान परिस्थिति सहज नभएको भन्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन्।
सचिवालय बैठकमा अधिकांश नेताहरूबाट मार्गप्रशस्त गर्न दबाब आएपछि अध्यक्ष ओलीले आफू यसरी पछि नहट्ने स्पष्ट पारेका छन्। ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “मलाई यसरी सम्झाएर सक्नुहुन्न। म सम्झिन्नँ। म यसरी छाड्दिनँ।” सचिवालयमा आफू अल्पमतमा पर्ने सङ्केत पाएपछि ओलीले केन्द्रीय कमिटीमा आफू बलियो भएको तर्क गर्न थालेका छन् र यो विषयलाई केन्द्रीय कमिटी बैठकसम्म लगेर मात्रै बाँकी निर्णय हुने अडान लिएका छन्।
शनिबारको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकका विषयवस्तुहरू बाहिर आउँदा अतिरञ्जित पारिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पार्टीभित्र विभिन्न विचार हुनु स्वाभाविक भए पनि त्यसलाई पद्धति र अनुशासनभित्रै राख्नुपर्ने बताए।
उनले थपे, “म जुन स्कुलिङबाट आएको छु, त्यसमा हरेक कुरा पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने लाग्छ। पार्टीको अनुशासन, विधि र पद्धतिमा बसेर आफ्ना कुरा कमिटीभित्रै राख्नुपर्छ।”
उपमहासचिव भट्टका अनुसार शनिबारको बैठकमा पाँच जना सचिवहरूले आ-आफ्नो अनुभूति र अनुभवहरू राखिसकेका छन् भने अब चार जना सचिवहरूले धारणा राख्न बाँकी छ।
आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा बाँकी सचिवहरूले कुरा राखिसकेपछि प्रस्तावित ११ वटा एजेन्डाहरूमाथि औपचारिक रूपमा छलफल शुरू हुनेछ।
भोलिको बैठकको अन्त्यपछि मात्रै पार्टीले गरेका आधिकारिक निर्णयहरू सार्वजनिक गरिने भट्टले स्पष्ट पारेका छन्।