arrow

ग्रामीण भेगमा भुसको आगो जस्तै सल्किँदै नसर्ने रोग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
nasarney-rog.jpg

काठमाडौँ । कुनै समय धनी वर्गलाई मात्र लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँघरमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ। एक पटक लागेपछि लामो समय वा जीवनभर नै उपचार गर्नुपर्ने र औषधि खानुपर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ। विलासी जीवन र खानपानका कारण देखिने भनिएका यस्ता रोगहरू अचेल ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरहरूमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा फेला पर्न थालेका छन्। चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार शिविरहरूमा विशेष गरी उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरूको सङ्ख्या निक्कै धेरै छ। त्यसै गरी बाथ, नसा सम्बन्धी समस्या तथा पक्षघातका बिरामीहरू समेत निक्कै देखिएका छन्।

शिविरहरूमा ५० जनाको स्वास्थ्य जाँच गर्दा कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेहको मात्रा अत्यन्त बढी देखिने गरेको प्रमुख कार्कीले बताए। ती मध्ये अधिकांशले यसअघि कहिल्यै जाँच नगरेको र औषधि पनि नखाएको पाइनुले अवस्था निक्कै जटिल रहेको उनको भनाइ छ। चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय कुनै पनि औषधि नखाएका र यसअघि जाँच समेत नगराएका मानिसहरूमा समेत ५ सय भन्दा बढी सुगरको मात्रा देखिएको छ। 

खाँडादेवी गाउँपालिका–४ रजगाउँमा केही दिनअघि आयोजना गरिएको शिविरमा एकजनामा ५ सय २४ मिलिग्राम/डीएल र अन्य केहीमा ४ सय भन्दा बढी चिनीको मात्रा देखिएको चापागाईँले जानकारी दिए। चिकित्सालयले साप्ताहिक रूपमा सञ्चालन गर्ने शिविरहरूमा पनि मधुमेहको समस्या भएका धेरै मानिसहरू फेला पर्ने गरेका छन्।

खाना खाएपछि रगतमा चिनीको सामान्य स्तर १४० मिलिग्राम/डीएल भन्दा कम हुनुपर्छ। यदि यो १४० देखि १९९ मिलिग्राम/डीएलको बिचमा छ भने यसलाई प्रि–डाइबिटिजको लक्षण मानिन्छ। तर खाना पछि २०० मिलिग्राम/डीएल वा सो भन्दा बढी भएमा त्यसलाई मधुमेह भनिन्छ। शरीरले इन्सुलिनको उचित प्रयोग गर्न नसक्दा वा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा यो अवस्था आउँछ। सामान्यता १२०/८० एमएम एचजी हुनुपर्ने रक्तचाप कतिपय ग्रामीण बिरामीहरूमा १८०/१३० एमएम एचजीसम्म पुगेको देखिएको छ। रक्तचाप बढेका कतिपयले हालसम्म औषधि नै नखाएका र औषधि खाइरहेकाहरूको समेत रक्तचाप नियन्त्रणमा नआएको पाइएको छ। यो समस्या युवादेखि ज्येष्ठ नागरिकसम्मै देखिएको छ।

मधुमेहको समयमा नै उपचार नगर्दा सबैभन्दा बढी असर आँखामा पर्ने चिकित्सालयका डा. उत्तम गैरेले बताए। यसले नसामा असर गरी नसा नै फुट्ने, हृदयाघात (हर्ट एट्याक) को जोखिम हुने र मिर्गौला फेल गराउने जस्ता समस्या निम्त्याउँछ। त्यसै गरी, उच्च रक्तचापले धमनीहरूमा रगतको दबाबलाई असामान्य रूपमा बढाई शरीरका विभिन्न अङ्गहरूमा दीर्घकालीन असर गर्छ, जसका कारण हृदयाघात, मस्तिष्कघात, मिर्गौलाको समस्या र अन्य गम्भीर रोगहरूको जोखिम धेरै नै बढाउँछ। यी बाहेक जाँचका क्रममा युरिक एसिड, नसा, जोर्नीहरू दुख्ने, छालाका रोगीहरू र ग्यास्ट्रिकका बिरामीहरूको सङ्ख्या पनि गाउँमा अधिक पाइएको छ।

चिकित्सालयकी डा. सविता भण्डारीका अनुसार खानपानमा ध्यान नदिने, शारीरिक अभ्यास घट्दै जानु, कृत्रिम तथा विभिन्न खालका पेय पदार्थहरू अधिक सेवन गर्नु, व्यवहारमा परिवर्तन र तनाव आदिका कारण गाउँघरमा यस्ता रोगहरू बढ्दै गएका हुन्। यसको निदानका लागि अब ग्रामीण क्षेत्रहरूमा खानपान र जीवनशैली व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ