arrow

सत्ताले प्रतिपक्षलाई सिध्याउने प्रवृत्ति रोकौँ, इतिहासबाट सिकौँ: सुशीला कार्की [भिडियो]

प्रतिपक्षको आलोचना मार्गनिर्देशन हो, खुट्टा तान्ने हतियार होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
sushila-karki-22.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने खेलमा लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू सत्तामा पुगियो भन्दैमा अर्को पक्षलाई पूरै नास्नामुद गराउने मनसाय राख्नु लोकतान्त्रिक प्रणालीका लागि हितकर नहुने स्पष्ट पारिन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेताहरूलाई देशको राजनीतिक इतिहास र पुराना अनुभवहरूलाई मनन गरेर मात्र अघि बढ्न विशेष सुझाव दिइन् ।

संसद्मा नयाँ र युवा पुस्ताको आगमनलाई सकारात्मक रूपमा लिँदै कार्कीले भनिन्, "अघिल्लो सत्तामा रहेका अधिकांश पुराना अनुहारहरूले चुनाव हार्नुभयो र नयाँ पार्टीहरू स्थापित भए । अहिले संसद्मा हेर्दा हाम्रा छोरी वा नाति–नातिनी उमेरका युवा सांसदहरू आइपुगेका छन् । युवा पुस्ताले आफूहरूले पनि देश विकासमा सहभागी हुन पाउनुपर्छ भन्यो र जनताले पनि उनीहरूलाई नै विश्वास गरेर मत दिए । त्यसैले सबैले यो जनमतको सम्मान गर्दै नयाँ सरकारलाई काम गर्न दिनुपर्छ र चल्न दिनुपर्छ ।"

राजनीतिक दलहरूबिच विचारको लडाइँ र प्रतिस्पर्धा हुनु स्वाभाविक भएको चर्चा गर्दै उनले प्रतिपक्षले सरकारको विरोध गर्ने नाममा खुट्टा तान्ने प्रवृत्ति अपनाउन नहुने बताइन् । जहिले पनि प्रतिपक्षले सत्तापक्षका त्रुटिहरू औँल्याउने भए पनि त्यसका लागि सभ्य भाषाको प्रयोग गरिनुपर्ने उनको भनाइ थियो । "प्रतिपक्षको सभ्य आलोचना सरकारका लागि एउटा सही मार्गनिर्देशन हो," कार्कीले थपिन्, "जनताले मत दिएर पठाएको सरकारलाई ध्वस्त पार्ने वा जसरी पनि खुट्टा तानेर ढाल्ने खेलमा प्रतिपक्ष लाग्नु हुँदैन ।"

अहिले देशको बागडोर ३५ देखि ३७ वर्ष उमेरका युवा प्रधानमन्त्री र नेताहरूको हातमा रहेको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले उनीहरूलाई इतिहास भुल्न नहुने सचेत गराइन् । हिजोका दिनमा केपी शर्मा ओली, शेरबहादुर देउवा वा पुष्पकमल दाहाल 'प्रचण्ड' हरू पनि आफ्ना राजनीतिक आन्दोलनका सुरुवाती चरणमा युवै रहेको स्मरण गराउँदै उनले भनिन्, "पार्टीका लिडरहरू सधैँ जवान भएर बस्दैनन्, अनुभव गर्दै जाँदा नेतृत्व परिपक्व हुने हो । तसर्थ, आफू पावरमा आइयो भन्दैमा अर्को पक्षलाई समाप्त पार्छु भन्नु गलत हो ।"

एक अर्काबबिच रचनात्मक आलोचना र स्वस्थ प्रतिस्पर्धा हुँदा मात्र देशले गति लिने र राजनीतिक दलहरूले ही मुलुक हाँक्ने भएकाले दलहरूको भूमिकालाई कसैले कम आँख्न नमिल्ने उनको तर्क थियो ।

यसैबिच, पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा हालैका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गराउन निष्पक्ष र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको समेत उच्च प्रशंसा गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ