कोशी ब्यारेजमा कार्यरत प्रहरी पौडेलको सवारी दुर्घटनामा मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
334
Shares
इनरुवा । सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका ८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।