रास्वपा जिल्ला अधिवेशन: कास्कीमा यदुनाथ, दाङमा किरण र भोजपुरमा ख्याम निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
162
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशनअन्तर्गत कास्की, दाङ र भोजपुरमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार र गए राति सम्पन्न निर्वाचन प्रक्रियामार्फत तीनवटै जिल्लामा नयाँ कार्यसमिति गठन गरिएको हो।
कास्की जिल्ला सभापतिमा यदुनाथ अधिकारी आफ्ना प्रतिस्पर्धी एकराज न्यौपानेलाई मात्र १ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छन्। कुल २ सय ३३ मत खसेको निर्वाचनमा अधिकारीले १ सय १५ मत पाउँदा न्यौपानेले १ सय १४ मत प्राप्त गरे। अधिवेशनबाट उपसभापतिमा चिनबहादुर गुरुङ, सचिवमा विश्वराज पौडेल र सहसचिवमा सुजन बस्ताकोटी निर्वाचित भएका छन् भने कोषाध्यक्ष कार्यसमितिबाट पछि मनोनयन गरिने जनाइएको छ।
त्यस्तै दाङ जिल्ला सभापतिमा किरण खनाल १ सय ९६ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १ सय २४ मत, केदार रजौरेले ६ मत र किरणकुमार आचार्यले २ मत प्राप्त गरे। उपसभापतिमा २४१ मतका साथ निराजन थापा (प्रतिद्वन्द्वी सुनिता रावत ८० मत), सचिवमा २०० मतका साथ असीम भुसाल (प्रतिद्वन्द्वी बलीराम खत्री १२३ मत) र सहसचिवमा १४८ मतका साथ प्रमिला रोका (प्रतिद्वन्द्वीद्वय दीपक गैरे १०८ र सोमराज बस्नेत ६३ मत) निर्वाचित भएका छन्। सदस्यहरूमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा र पवित्रा विक चयन भएका छन्।
यता भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट ख्याम भुजेल सभापतिमा निर्वाचित भएका छन्। कार्यसमितिको उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री र सहसचिवमा अनिल बस्नेत चयन भएका छन्। सदस्यहरूमा चन्द्रकुमार श्रेष्ठ, देवराज धमला र सितादेवी ढुङ्गाना (कार्की) चुनिएका छन् भने निर्वाचन क्षेत्र (क) को उपसंयोजकमा राजनप्रसाद ढकाल र क्षेत्र (ख) को उपसंयोजकमा उपेन्द्र कटवाल चयन भएका छन्।