छानबिनमा सघाउन गृहमन्त्री पदबाट राजीनामा दिएको हुँ : सुधन गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
231
Shares
काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सघाउन आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहेर काम गरेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको बताएका हुन्।
‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेर नै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्न निकै कडा थिए, जसको मैले सहज र स्पष्ट रूपमा जवाफ दिएको छु,’ उनले भने।
सांसद गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा विश्वास व्यक्त गरे।
उनले आफू निर्दोष सावित भएमा सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सक्ने सम्भावनातर्फ सङ्केत गर्दै कार्यकर्तालाई विशेष आग्रह पनि गरे।
‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।
गुरुङले व्यक्तिगत प्रचारभन्दा मन्त्रालयको कामलाई प्राथमिकता दिन चाहेको संकेत गर्दै आफ्नो ध्यान जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नतर्फ केन्द्रित रहने बताए।