arrow

काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
chaudary-hotel-cg.jpg

काठमाडौँ । नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा ठुलो फड्को मार्दै विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’ र चौधरी ग्रुप अन्तर्गतको ‘सीजी हस्पिटालिटी ग्लोबल’बीच काठमाडौँमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ। आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबिच दुई कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार काठमाडौँमा विश्वप्रसिद्ध ब्रान्डहरू ‘द रिट्ज–कार्लटन काठमाडौँ’ र ‘द वेस्टिन काठमाडौँ’ सञ्चालनमा ल्याइनेछ। यस सहकार्यसँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ कोठाहरू (की) थपिनेछन् भने यी बहुप्रतिष्ठित लक्जरी तथा प्रिमियम होटल ब्रान्डले पहिलोपटक नेपालमा प्रवेश पाउने भएका छन्। दुवै होटल सन् २०३१ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यो नयाँ परियोजना चौधरी ग्रुप, आईआईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुन लागेको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुपका अध्यक्ष डा. विनोद चौधरी र सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं मुख्य कार्यकारी अधिकृत राहुल चौधरी लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

द रिट्ज–कार्लटन काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा निर्माण हुनेछ। यो होटल काठमाडौँका प्रमुख पर्यटकीय तथा सांस्कृतिक सम्पदाहरू जस्तै ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौँ दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप र पशुपतिनाथ मन्दिर नजिक रहनेछ।

त्यसै गरी द वेस्टिन काठमाडौँ विमानस्थलबाट करिब ७ किलोमिटरको दूरीमा रहनेछ। वेस्टिन ब्रान्डको विशेष वेलनेस अवधारणा अनुसार विकास गरिने यस होटलमा १५० वटा प्रिमियम रुम तथा सुइट, तीन वटा डाइनिङ स्थल, फिटनेस स्टुडियो, स्पा, रूफटप स्विमिङ पुल र ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा उपलब्ध हुनेछ।

चौधरी ग्रुपको हस्पिटालिटी क्षेत्रको प्रमुख व्यावसायिक इकाइ सीजी हस्पिटालिटी र म्यारियट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न परियोजनामा लामो समयदेखि सहकार्य रहँदै आएको छ। नयाँ सम्झौताले यो सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा दुई कम्पनीबीचको सहकार्य तीव्र रूपमा विस्तार भइरहेको छ। भारतमा मात्रै ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटलको सम्झौता सम्पन्न भइसकेको छ भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत संयुक्त परियोजनाहरू अघि बढाइएका छन्। विश्वकै अग्रणी हस्पिटालिटी कम्पनी म्यारियट इन्टरनेसनलले हाल संसारका १४१ देश तथा क्षेत्रहरूमा ९ हजार १ सयभन्दा बढी होटलहरू सञ्चालन गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ