एसियन गेम्स छनोटको फाइनल आज: उपाधिका लागि नेपाल हङकङसँग भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
670
Shares
काठमाडौँ । एसियन गेम्स छनोटको फाइनल खेलमा आज नेपाली क्रिकेट टोलीले उपाधिका लागि हङकङको सामना गर्दै छ।
नेपाल र हङकङबिचको यो रोमाञ्चक फाइनल भिडन्त सिङ्गापुरस्थित सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो १२:१५ बजे शुरू हुनेछ।
आइतबार भएको सेमिफाइनल खेलमा ओमानमाथि ८ विकेटको सानदार जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
नेपालको जितमा लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन जोडे भने ओपनर कुशल भुर्तेलले २० र कप्तान रोहित पौडेलले अविजित २१ रनको योगदान दिए। बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिएका थिए।
त्यसअघि ब्याटिङ गरेको ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाएका थिए।
उत्कृष्ट बलिङ र ब्याटिङ लयमा देखिएको नेपाली टोली आज हङकङलाई पराजित गर्दै छनोटको उपाधि चुम्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।