काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बुधवार) बिहान ११:०० बजे बस्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट र विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल गर्ने कार्यसूची तय गरिए पनि प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण सिर्जित गतिरोधले आजको बैठक सहज रूपमा अगाडि बढ्नेमा आशङ्का कायमै छ।
हिजो मङ्गलवारको बैठकमा पनि प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्री साहलाई तत्काल संसद्मा बोलाएर स्पष्टीकरण दिन आग्रह गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक आजका लागि स्थगित गरेका थिए। यसअघि सोमबार पनि सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक सहमति जुट्न नसकेपछि सभामुख अर्यालले बैठक सारेका थिए । जसका कारण प्रतिनिधि सभाको बैठक लगातार कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ।
संसद्मा जारी यो गतिरोध अन्त्यका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने प्रयास गरेका थिए। उक्त संवादमा सत्तारुढ दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको प्राविधिक र कूटनीतिक जवाफ परराष्ट्रमन्त्रीले दिँदा उपयुक्त हुने विकल्प सारे पनि प्रतिपक्षले त्यसलाई अस्वीकार गरिदिएपछि बैठक निष्कर्षविहीन टुङ्गिएको थियो। प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रधानमन्त्री साहले संसद्को रोस्ट्रमबाट नेपाल–भारत सीमाका विषयमा दिएको कूटनीतिक स्टेटमेन्ट गैरजिम्मेवारपूर्ण रहेको भन्दै विरोध रोकेका छैनन्।
उनीहरूले सो विवादित अभिव्यक्ति तत्काल संसद्को आधिकारिक रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई माफी माग्नुपर्ने अडानलाई आज पनि निरन्तरता दिने सङ्केत गरेका छन्। प्रधानमन्त्री आफैँ रोस्ट्रममा नआएसम्म सदन चल्न नदिने विपक्षीको दृढ निष्कर्षका कारण रास्वपाले थप संवाद जारी राख्ने बताए पनि सहमति हुन सकेको छैन।
यदि आज राजनीतिक सहमति जुटेर बैठक चालु भएमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने कार्यसूची छ। साथै सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'अर्थ विधेयक' राष्ट्रिय सभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा विस्तृत छलफल हुने र बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्। यसका साथै चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, अर्थमन्त्रीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायतका महत्त्वपूर्ण कार्यसूचीहरू आजका लागि तय गरिएका छन्।