कांग्रेसको १५ औँ महाधिवेशनको प्रारम्भिक बिन्दु अन्त्यतिर, क्रियाशील कार्यकर्तालाई विशेष अपील
कांग्रेसको सदस्यता अद्यावधिक समय आज मध्यरातमा सकिदै, भोलिदेखि छानबिन र प्राविधिक म्याचिङ, मंसिरसम्म महाधिवेशन गर्नैपर्ने बाध्यता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
455
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई मजबुत बनाउने र जनताका मौलिक हकको संरक्षण गर्ने जिम्मा पार्टीको भएको भन्दै कांग्रेसलाई एकजुट हुन आग्रह गरेका छन् । पार्टीले १५ औँ महाधिवेशनको प्रारम्भिक बिन्दुलाई अन्तिम चरणमा पुर्याइरहँदा प्रवक्ता चालिसेले सबै कांग्रेसी एकजुट भएर महाधिवेशन सफल पारी लोकतन्त्रको रक्षार्थ उभिन आग्रह गरेका हुन् ।
उनले पार्टीको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको अन्तिम समयसीमा आज मध्यराति सकिदै गर्दा कार्यकर्ताको यो महत्वपूर्ण घडी भएको भन्दै पहिले छुटेका सबैलाई तत्काल प्रविधिमा जोडिएर लोकतन्त्रका लागि क्रियाशील सदस्यता नवीकरण गर्न आग्रह गरेका हुन् ।
विशेष कुराकानीमा उनले भने, 'पार्टीले माग बमोजिम पटक पटक थपेको समय आज मध्यरातसम्म रहेको छ । लगभग अनुमान गरेको आँकडामा पुगेका छौँ । पुरानो आँकडा हेर्दा दुई लाखले अद्यावधिक नगरेको देखिएको छ । केही छुट्नु भएको छ । हामी आह्वान गरिरहेका छौँ सच्चा कार्यकर्ताले कुनै वैरभाव नराखी नवीकरण गरिदिनुस् । यो पार्टी तपाईंहरूको हो । व्यक्ति त आउँछ जान्छ तर पार्टी जहिले पनि संगठित भएको हुन्छ ।’
उनले अहिलेको क्रियाशील सदस्यता विवरण नितान्त प्रविधिसँग जोडिएकाले यसमा जोडिएर साथ दिन पनि आग्रह गरेका छन् । यो पूर्णत पारदर्शी हुने दाबीसमेत उनले गरेका छन् । यसअघिका संख्यामा पारदर्शीमा शंका गर्ने ठाउँ भएकाले राजनीतिक परिवर्तनबीच पनि सदस्यता अद्यावधिक गर्नेहरू बढेको उनको जिकिर छ ।
संस्थापन इतर समूहका नेताहरू अझै नजोडिएको भन्ने विषयमा के आह्वान हुनेछ भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूको विवाद सदस्यतासँग जोडिएको छैन । अहिले त पार्टी कार्यकर्तालाई ऊर्जाशील बनाउने, आधुनिक बनाउने र प्रविधिमैत्री बनाउने रहेको छ । उहाँहरूको त पदसँग जोडिएको विषय हो । सम्मानसँग जोडिएको विषय हो । सल्लाह सबैलाई ग्राह्य हुन्छ । तर पार्टीलाई बलियो भन्दा पनि अप्ठेरो पार्ने, कार्यकर्ताको मनोबल घटाउने, जनतामा निराशा बाँड्ने खालको विवादको विषयमात्र अगाडि लैजान खोज्नु राम्रो होइन । हामी जहिले खुला छौँ आउनुस् छलफलमा बसेर अगाडि बढौँ । राजनीति भनेको नै विचार हो । सिद्धान्त हो । हामी पार्टीको सिद्धान्त र विधानअनुरुप सहमति गरेर अगाडि बढ्न जहिले पनि तयार छौँ ।'
उनले अहिले अद्यावधिक गर्नेहरू पक्का कांग्रेसी भएकाले यसमा यो पक्ष वा त्यो पक्ष भन्ने नभएको दाबी गरे । प्रवक्ता चालिसेले भने, 'यो लोकतन्त्रका लागि एकजुट भएको संख्या हो । हामी एकत्रित छौँ भन्ने दिएको सन्देश हो ।'
उनले अद्यावधिक गर्न कोही छुटि नै हाल्यो भने के गर्ने भन्ने जिज्ञासामा भने, 'मलाई लाग्दछ केही अद्यावधिक गर्न छुट्नु भएको होला तर मलाई लाग्दछ धेरै संख्यामा साथीहरूले अद्यावधिक गर्नुभएको छ । नगराउन केही कोसिस भएको होला तर सफल भएको देखिँदैन ।'
समय अब नथपिने नै हो ?
विशेष परिस्थितिले अद्यावधिक गर्न छुटेकाको हकमा कारणसहित आउँदा गराउन सकिने छ उनको भनाइ छ । तर अब त्यत्तिकै समय नथपिने उनले स्पष्ट पारे ।
उनले अगाडि भने, 'समय त माग भएमा, अप्ठेरो परेमा, थप गर्नुपर्ने देखिएमा दिन मिल्ने विषय हो । यो राजनीतिक भन्दा पनि अनुभूतिको विषय हो । स्पष्ट आधार भएका खण्डमा दिँदै नदिने भन्ने होइन ।'
राजनीतिक बार्गेनिङबाट भने अब समय थप्नुको औचित्य नभएको उनको स्पष्ट भनाइ छ । उनले भने, 'राजनीतिक रूपमा हो भने त्यो एक वर्ष थपे पनि केही हुँदैन । बार्गेनिङ टुल बनाउन खोजियो भने वास्तविक समस्या त होइन रहेछ भन्ने बुझिन्छ ।'
थप्नै पर्ने अवस्थाबारे उनले भने, 'वस्तुगत कारण छ, आवश्यकता छ र थप्नुपर्ने परिस्थिति छ, दुर्गमको कारण छ, टेलिफोनको कारण छ अथवा प्रविधिका कारणले होला ती कारणका विषय फरक हुन् । त्यस्तो कारणले थप्नुपर्यो भने थप्नु पनि पर्छ । राजनीतिक कारण हो भने थप्नु जरुरी छैन । समय केन्द्रित भए थप्नुपर्छ । राजनीतिकको मतलब समस्या धेरै टाढा छ भन्ने हो ।'
उनले भने, फरक दृष्टिकोण र विचारलाई स्वागत छ । सबै समस्याको समाधान विधानमै छ । विधानलाई उल्लंघन नगरी हदैसम्म लचिलो भएर समस्याको समाधान गर्न तयार छौँ । विधानभन्दा बाहिरको माग समाधान गर्न सकिँदैन ।'
उनले प्रारम्भिक बिन्दु नै क्रियाशील सदस्यता अद्यावधिक भएकाले अब महाधिवेशनको लागि द्रुत गतिले अगाडि बढ्नु पर्नेमा जोड दिए ।
के हुन्छ भोलिदेखि ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आज मध्यरातसम्म अद्यावधिक भएपछि भोलिदेखि क्रियाशील सदस्यको अन्तिम नामावली तयार गर्नेतर्फ लाग्ने बताए ।
कतिपयको फर्म भर्दा बिग्रिएको हुनाले त्यो सच्याउनु पर्ने काम रहेको बताए । उनले भने, 'कतिपयको बिग्रिएको छ । केहीको दोहोरिएको जस्तो पनि छ । छानबिनको काम हुन्छ । हामी प्रविधि मैत्री क्रियाशील सदस्यता बनाइरहँदा अब भने प्राविधिक म्याचिङको काम हुनेछ ।'
मंसिरमा महाधिवेशन गर्नैपर्ने बाध्यता
कांग्रेसलाई आगामी मंसिरमा पार्टीको १५ औँ महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको छ । गत वर्ष मंसिरमै कांग्रेसको चार वर्षे कार्यकाल पूरा भएको छ ।
विधान अनुसार बाध्यतावश एक वर्ष समय थप्न सकिने अनुरूप आगामी मंसिरमा त महाधिवेशन गर्नैपर्छ । संविधानअनुसार पनि महाधिवेशन मंसिर गर्नैपर्छ ।
लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले मंसिर नकटाइ महाधिवेशन गर्नुपर्नेछ । महाधिवेशन गर्न छ महिनाको अवधिसमेत बाँकी नरहँदा कांग्रेसलाई अब निकै धपेडी हुने देखिन्छ ।
अर्कातर्फ आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस अनपेक्षित रूपले पछाडि पर्यो । पहिलो दल हुँदा हुँदै आफ्नो गरिमा जोगाउन नसक्दा सिट संख्या निकै खुम्चिएर दोस्रो स्थानमा रह्यो ।
स्थानीय तहमा कांग्रेस समग्रमा पहिलो पार्टी नै हो । तर पार्टीलाई सम्हालेर अगाडि नबढ्ने हो भने फेरि स्थिति गम्भीर बन्नेमा दुईमत छैन । मंसिरभित्रै महाधिवेशन गरेर नयाँ म्यान्डेटसहित अगाडि बढेमात्र कांग्रेसले आफ्नो गरिमा जाोगाउन सक्ला । मेहनत भने बढी नै गर्नुपर्ने देखिन्छ ।
आजै सकिँदै गरेको क्रियाशील सदस्यताको स्थिति के छ ?
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले दिएको जानकारीअनुसार आज मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुनेछ । उनले सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपील गरेका छन् ।
क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कूल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन् ।
त्यस बाहेक थप एक लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी पनि पार्टीले दिएको छ।
महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।
उनले कांग्रेसको वेबसाइटमार्फत हरेक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट सहज रूपमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बताउँदै प्रक्रिया थाहा नभए वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिएर भए पनि समयमै अद्यावधिक गर्न आग्रह गरेका छन् ।