बूढीखोला किनारस्थित एकीकृत बस्तीको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
234
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विराटनगर महानगरपालिका-१२ स्थित केशलिया (बूढीखोला) किनारमा निर्माण गरिएको एकीकृत बस्तीको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरपालिका, ह्याबिटाट नेपाल र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको उक्त बस्ती सुकुमवासीका लागि सुरक्षित आवास बन्न नसकी उल्टै ऋणको भार र अव्यवस्थाको प्रतीक बनेको बताइन्।
‘विराटनगर-१२ मा निर्माण गरिएको एकीकृत सम्पन्न बस्ती नाममा मात्र सम्पन्न छ। वास्तविकतामा यो विपन्नताको चरम नमुना बनेको छ,’ उनले भनिन्, ‘महानगरपालिका, ह्याबिटाट नेपाल र निजी क्षेत्रको साझेदारीमा बनेको यो बस्ती सुकुम्बासीका लागि सुरक्षित आवास होइन, समस्याको थलो बनेको छ।’
सांसद अधिकारीले बस्तीमा आधारभूत पूर्वाधारसमेत नभएको उल्लेख गरिन्। उनका अनुसार त्यहाँ सडक, ढल, खानेपानी र विद्युत्जस्ता अत्यावश्यक सेवाको उचित व्यवस्था छैन।
उनले नदी किनारमा कुनै प्रभावकारी तटबन्ध निर्माण नगरी करिब एक सय घरधुरी बसोबास गर्ने गरी बस्ती विकास गरिएकाले सामान्य वर्षामै डुबानको जोखिममा पर्ने अवस्था रहेको बताइन्।
‘यो व्यवस्थापन हो कि नीतिगत ठगी ? त्यहाँ न बाटो छ, न ढल, न खानेपानी र न विद्युत्को भरपर्दो सुविधा। सुरक्षात्मक तटबन्धबिनै नदी किनारको खोँचमा बनाइएको बस्तीका करिब एक सय घरधुरी सामान्य वर्षामै जलमग्न हुने अवस्था छ,’ उनले भनिन्।
सांसद अधिकारीले उक्त बस्तीको अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै त्यहाँका बासिन्दाको सुरक्षित आवास र आधारभूत सुविधाको सुनिश्चितताका लागि तत्काल पहल गर्न माग गरिन्।