प्रधानमन्त्रीलाई सांसद थपलियाको काव्यमार्फत प्रश्न - देश बिर्सिए कसको शासक बन्छौ ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
283
Shares
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री वालेन्द्र साहलाई देश, माटो र जनताको जिम्मेवारी नबिर्सन आग्रह गर्दै संसद्मा कवितामार्फत कडा प्रश्न उठाएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता वाचन गर्दै उनले प्रधानमन्त्रीले देश बनाउने प्रतिबद्धता जनाए पनि पछिल्ला अभिव्यक्तिले राष्ट्रियता र जनभावनामाथि प्रश्न उठाएको टिप्पणी गरिन्।
प्रधानमन्त्रीले आफ्नै देश, माटो र जनताप्रतिको दायित्व बिर्सिन नहुने उनको भनाइ थियो।
कवितामार्फत उनले ‘माटो छोएर कसम खानेहरू नै पछि त्यही माटोमाथि प्रश्न गर्न थालेको’ उल्लेख गर्दै स्वार्थले मानिसलाई धेरै कुरा बिर्साउन सक्ने भए पनि आफूलाई विश्वास गरेर मत दिने जनता, जनताको आधार बनेको माटो र आशिष दिने बाबुआमालाई कहिल्यै नबिर्सन आग्रह गरिन्।
सांसद थपलियाले बिर्सने प्रवृत्ति निरन्तर बढ्दै गएमा एक दिन देशलाई नै बिर्सिने अवस्था आउन सक्ने चेतावनी दिँदै प्रश्न गरिन्, “जुन दिन देश बिर्सन्छौ, त्यो दिन तिमी कसको शासक बन्नेछौ ?”
उनले कविता मार्फत प्रधानमन्त्रीलाई जनताको भरोसा र राष्ट्रिय स्वाभिमानको सम्मान गर्न आग्रह गर्दै देशभन्दा माथि कुनै पनि स्वार्थ हुन नसक्ने सन्देश दिइन्।
प्रधानमन्त्री साहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्। सोही सन्दर्भमा सांसद थपलियाले संसद्मा कविता प्रस्तुत गर्दै सरकारको धारणा र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।
यस्तो छ सांसद थपलियाको कविता
‘देश बिर्सिएको दिन’
तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ
तर एकाएक तिम्रो बोलीको प्रतिध्वनी पनि नमेटिँदै
आफ्नै आमाको अस्मिता माथि औंला उठायौ
माटो छोएर कसम खायौ
तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ
त्यसैले आज म ढुक्क होइन,
मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ
स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स तिमीमाथि असिम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने ती बा–आमालाई नबिर्स
यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौँ
तर जुन दिन देश बिर्सन्छौँ, त्यो दिन तिमी कसको शासक बन्नेछौँ ?
भन तिमी त्यो दिन कसको शासक बन्नेछौँ ?