मन्त्रीहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उचित हुँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
253
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादा कायम गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले आर्थिक विधेयकमा करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भन्दै समितिको ध्यानाकर्षण गराएका छन्।
उनले संसद र संसदीय समिति ‘मिनी पार्लियामेन्ट’ भएको उल्लेख गर्दै कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने बताएका छन्। मन्त्रीहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उपयुक्त नहुने उनको भनाइ छ।
पुनले भने, ‘संसद र संसदीय समिति मिनी पार्लियामेन्ट हो। यहाँ सांसदहरूको मर्यादा कायम हुनुपर्छ। मन्त्रीज्यूहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उचित हुँदैन। यदि पुरानाले गरेकै आधारमा अहिले पनि त्यस्तै गर्ने हो भने छानबिन गरौँ। म तयार छु। दोष प्रमाणित भए कारबाही भोग्न तयार छु।’
उनले बजेट निर्माण प्रक्रिया र आर्थिक निर्णयहरूमा पारदर्शिता आवश्यक रहेको बताउँदै विगतका निर्णयहरूको समेत छानबिन गर्न सकिने धारणा राखे। आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्न विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिए।