arrow

नेपाल-भारत रेल सञ्जाल विस्तारमा नयाँ छलफल, कार्यान्वयनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
nepal-india-train-way.jpg

काठमाडौँ। नेपाल-भारत सीमापार रेलवे लिंकहरूको निर्माण तथा नयाँ परियोजनाबारे दुई देशका प्रतिनिधिहरूबीच छलफल भएको छ ।

भारतीय दूतावासका अनुसार शुक्रबार काठमाडौँमा परियोजना निर्देशक समिति (पीएससी) र संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमार्फत रेलवे परियोजनाको प्रगति र आगामी योजनाबारे विस्तृत समीक्षा गरिएको हो ।

बैठकमा भारतको अनुदानमा सञ्चालन भइरहेका जयनगर-विजलपुरा-बर्दिबास र जोगवनी-विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको कार्यान्वयन अवस्थाबारे छलफल भएको दूतावासले जनाएको छ।

सञ्चालनमा रहेका सीमापार रेल सेवाहरूको प्रभावकारिता, निर्माण प्रगति र द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत विचार-विमर्श भएको थियो ।

त्यसैगरी जनकपुर-अयोध्या खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्ने प्रक्रिया, रक्सौल-काठमाडौँ ब्रोडगेज रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदन तथा पूर्व-पश्चिम रेलवे लिंकका लागि आवश्यक प्राविधिक सहयोगका विषयमा पनि बैठकमा छलफल भएको उल्लेख छ । थप सीमापार रेल लिंकहरूको सम्भावनाबारे पनि प्रारम्भिक समीक्षा गरिएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव रोहित रथीशले गरेका थिए भने रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझाको समेत सहभागिता रहेको थियो। नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गरेका थिए ।

नेपाली पक्षले रेलवे लाइनका बाँकी खण्डहरूको निर्माण कार्य छिट्टै अघि बढाउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। दुवै पक्षले सीमापार रेल सञ्जाल विस्तारलाई रणनीतिक र दीर्घकालीन सहकार्यको महत्वपूर्ण हिस्सा भन्दै परियोजना छिटो कार्यान्वयनमा लैजाने विषयमा जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ