पश्चिमी, स्थानीय तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव, देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
381
Shares
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा , स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना देखिएको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू-भागमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने देखिन्छ। बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहँदा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।