arrow

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौताको घोषणा

हर्मुज जलमार्ग तत्काल खुला, जुन १९ मा औपचारिक हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
usa-iran-15-01.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच झन्डै चार महिना लामो सैन्य तनाव र युद्ध अन्त्य गर्ने गरी ऐतिहासिक शान्ति सम्झौता पूर्ण भएको घोषणा गरेका छन्।

आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत घोषणा गर्दै उनले सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गलाई निःशुल्क (टोल-मुक्त) रूपमा खुला गर्न र इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिएका छन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “इरानको इस्लामिक गणतन्त्रसँगको सम्झौता अब पूर्ण भएको छ। म यसद्वारा हर्मुज जलमार्गलाई निःशुल्क खुला गर्ने पूर्ण अधिकार दिन्छु र यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने अनुमति पनि प्रदान गर्दछु। विश्वका जहाजहरू हो, आफ्ना इन्जिनहरू सुरु गर। अब तेललाई बग्न देऊ!”

यसअघि ‘द वाल स्ट्रिट जर्नल’  लाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस सम्झौतामा आफूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गर्ने वा उपराष्ट्रपति जेडी भान्सले व्यक्तिगत रूपमा उपस्थित भई हस्ताक्षर गर्ने बताएका थिए। सम्झौताको मुख्य सर्तअनुसार इरानले आणविक हतियार प्राप्त नगर्ने प्रतिबद्धता जनाउनेछ।

इरानबाट समृद्ध आणविक सामग्रीहरू हटाउन कुनै हतारो नरहेको उल्लेख गर्दै ट्रम्पले भने, “त्यहाँ कुनै हतार छैन। हामी तयार भएपछि पछि गएर आणविक धुलो ल्याउनेछौँ। मलाई लाग्छ आगामी एक वा दुई महिनाभित्र यो काम हुनेछ, अहिले कुनै हतार छैन।”

इरानीहरूमाथि कडा आणविक निरीक्षण हुने ट्रम्पले बताए तापनि यो निरीक्षण कसरी र कुन संयन्त्रमार्फत सञ्चालन हुनेछ भन्नेबारे उनले विस्तृत विवरण खुलाएका छैनन्। सम्झौता अन्तर्गत इरानलाई कुनै नगद उपलब्ध गराइने छैन तर उनीहरूमाथि लगाइएका आर्थिक तथा व्यावसायिक प्रतिबन्धहरू सम्भावित रूपमा फुकुवा हुन सक्ने बताइएको छ।

यस ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ (शुक्रबार) का दिन स्विट्जरल्यान्डमा हुने तय भएको जानकारी दिएको छ । यो सम्झौताले लेबनानसहितका सबै मोर्चामा सैन्य अपरेसनहरूको तत्काल र स्थायी अन्त्यको घोषणा गरेको छ।

इरानका उपपरराष्ट्र मन्त्री काजिम गरिवआबादीले पनि अमेरिकी नौसैनिक नाकाबन्दी हट्ने र मस्यौदा फाइनल भइसकेको पुष्टि गर्दै इरानी सञ्चारमाध्यममार्फत सम्झौताको पूर्ण पाठ हस्ताक्षरपछि सार्वजनिक गरिने बताएका छन्।

यो सम्झौतासँगै केही महिनादेखि ठप्प रहेको विश्वकै प्रमुख तेल ढुवानी मार्ग खुला हुने र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य सहज हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ