बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी यीबीच वार्ता हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
414
Shares
तस्बिर फाइल
काठमाडौँ । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं विदेश मामिला मन्त्री यीको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल आइतबार बिहान बेइजिङ पुगेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङमा स्थानीय समय अनुसार आज अपराह्न ५:४५ बजे दुई देशका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता हुने तय भएको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयहरू र दुई देशबीचको सहकार्यलाई अझ सबल तथा प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल हुनेछ। परराष्ट्रमन्त्री खनालले आजै चीनका अन्य उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका रहेको छ।
यसअघि भ्रमणको पहिलो दिन आइतबार परराष्ट्रमन्त्री खनाल उनको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए। सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गरे।
अन्तरक्रियाका क्रममा मन्त्री खनालले वर्तमान सरकारका मुख्य प्राथमिकताहरू सुशासनको संस्थागत विकास, आर्थिक उन्नति र मुलुकको समृद्धिमा केन्द्रित रहेको उल्लेख गरे। उनले विदेशमा रहेका नेपाली समुदायलाई पनि मुलुकको यस समृद्धिको राष्ट्रिय अभियानमा हरसभब सहभागी हुन र योगदान पुर्याउन आह्वान गरे।
स्वागत समारोह अघि परराष्ट्रमन्त्री खनालले नेपाली राजदूतावास परिसरमा वृक्षारोपण गरेका थिए। त्यसपछि उनले कार्यवाहक राजदूत तथा दूतावासका अन्य अधिकारीहरूबाट राजदूतावासको हालको कार्यसम्पादन, चुनौती र आगामी प्राथमिकताका विषयमा विस्तृत जानकारी लिए।
सो क्रममा मन्त्री खनालले चीनमा नेपालको राष्ट्रिय हितको प्रवर्द्धन गर्न र त्यहाँ रहेका नेपाली नागरिकहरूलाई कुनै पनि सास्ती नहुने गरी प्रभावकारी एवं सरल सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिए। परराष्ट्रमन्त्री खनाल आफ्नो चार दिने भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।