मनसुन भित्रिन केही दिन ढिलो हुने, 'एलनिनो'का कारण कमजोर बन्ने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
664
Shares
काठमाडौँ । नेपालमा यो वर्षको मनसुन आगमनमा केही दिन ढिलाइ हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले 'मनसुन आगमन सम्बन्धमा' एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् असार १ गते आसपास भए पनि हालसम्म मनसुन आगमन भइसकेको छैन। भू-उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन भित्रिन अझै केही दिन ढिलो हुने सम्भावना देखिएको विभागले जनाएको छ।
विभागका अनुसार हाल प्रशान्त महासागरमा 'एलनिनो' विकसित भइसकेको छ र यो अझै बलियो हुने क्रममा रहेको छ। एलनिनो सक्रिय हुँदा दक्षिण एसियासहित नेपालको मनसुन प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ। यसले गर्दा यो वर्ष नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना मौसमविद्हरूले औँल्याएका छन्। विगतका केही वर्षहरूमा पनि एलनिनोको प्रभावकै कारण मनसुनको आगमन ढिलो भएको इतिहास छ।
विज्ञप्तिमा उल्लेखित तालिका अनुसार एलनिनोका कारण विगतमा मनसुन ढिलो भित्रिएका वर्ष र मितिहरू हेर्दा सन् १९७२ मा जुन १८, सन् १९८२ मा जुन २७, सन् १९८७ मा जुन २४, सन् १९९७ मा जुन १४, सन् २००२ मा जुन १५, सन् २०१५ मा जुन १५, सन् २०१९ मा जुन २० र सन् २०२३ मा जुन १४ तारिखका दिन मनसुन भित्रिएको थियो।
नेपालमा हाल मनसुनी प्रणाली प्रवेश नगरे पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेको छ। यसका कारण विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षाको गतिविधि भइरहेको अवस्था छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ। मौसमको बदलिँदो अवस्थाबारे नियमित रूपमा जानकारी अद्यावधिक गरिने भएकाले सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिइरहन विभागले अनुरोध गरेको छ।