काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत इरान र न्यूजिल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
मध्यान्तरसम्म १–१ गोलको बराबरी भएकामा मध्यान्तरपछि थप १–१ गोल भएको थियो ।
खेलको ७ मिनेटमै गोल गर्दै न्यूजिल्याण्डले अग्रता लियो । एलिजा जस्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनलाई क्रिस वुडले बल पास दिएका थिए ।
३२ औँ मिनेटमा इरानका रामिन रेजाइनले गोल गर्दै बराबरीमा ल्याए । खेलमा सात मिनेट इन्जुरी समय थपिएको थियो ।
५४ औँ मिनेटमा जस्टले ब्यक्तिगत दोस्रो गोल गर्दै न्यूजिल्याण्डलाई २–१ ले अग्रता दिलाए । फेरि पनि क्रिस उडको पासमा उनले गोल गरेका हुन् ।
६४ औँ मिनेटमा मोहम्मद मोहेब्बीले गोल गर्दै इरानलाई २–२ को बराबरीमा ल्याए । उनलाई रामिन रेजाइनले पास दिएका थिए ।
दुवैबीच कडा टक्करको खेल भएको छ । न्यूजिल्याण्डले करिब ५२ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि जित भने हासिल गर्न सकेन ।
न्यूजिल्याण्डले गोलका लागि ८ प्रहार गरे पनि दुई ओटामात्र जालि चुम्न सफल भए । त्यस्तै इरानले ४ प्रहार गरेकामा दुई ओटाले जाली चुमेका थिए ।
यो समूह एचको खेल हो । यो समूहमा बेल्जियम र इजिप्ट पनि छन् । पहिलो खेलमा दुवैले आपसमा १–१ गोलको बराबरी खेलेका छन् ।