नागढुङ्गा–नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने, शुल्क र भुक्तानी प्रक्रिया तय
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
468
Shares
काठमाडौँ । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सवारीसाधनका लागि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत र जामको समस्या सहज हुने अपेक्षा गरिएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले सुरुङभित्रका सबैजसो काम सकिइसकेको र हाल सुरुङभित्र हुनसक्ने आकस्मिक घटनाको उद्धार र सवारी व्यवस्थापन सम्बन्धी आन्तरिक परीक्षणका काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अहिले सुरुङ बाहिरको पहिरो रोकथामको काम मात्र बाँकी रहेको छ र असारभित्रै सबै तयारी पूरा गरेर साउनदेखि सवारीसाधन गुडाउने लक्ष्य राखिएको छ।
कुल २ हजार ६८८ मिटर लम्बाइ रहेको यस सुरुङमार्ग सुरुवाती ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य लम्बिएको हो। सुरुङमार्ग उपयोग गरेबापत गुड्ने सवारीसाधनबाट दस्तुर (टोल) सङ्कलन गर्न बैंक छनोट र कार्ड छाप्ने प्रक्रिया अघि बढिसकेको छ।
आयोजनाले सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन प्रकारले शुल्क तिर्न सक्ने व्यवस्था मिलाएको छ, जसमा चालकबाट सिधै नगद लिने व्यवस्था, 'क्यूआर कोड' स्क्यान गरेर भुक्तानी गर्ने व्यवस्था र सवारीसाधनमा टाँसिने स्टिकरलाई उच्च क्षमताको क्यामेराले रिड गरेर गरिने स्वचालित भुक्तानी प्रणाली रहेका छन्।
युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँको लागतमा ५ वर्षका लागि यस सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी पाएको छ र संकलित दस्तुर रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। सुरुङमार्ग वर्षको ३६५ दिन नै २४ सै घण्टा सञ्चालन हुनेछ र यसका लागि १५० जना जनशक्ति खटिनेछन् भने दिउँसोको 'पिक आवर'मा एकैपटक ४० जना कर्मचारी कार्यक्षेत्रमा रहनेछन्।
नागढुङ्गा नाका हुँदै दैनिक औसतमा दुईपाङ्ग्रे बाहेक ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेकामा त्यसमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ। यस सुरुङमार्गमा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) भने चलाउन पाइने छैन।
सरकारले वि.सं. २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सवारीसाधनको क्षमता अनुसार छुट्टाछुट्टै दस्तुर दरभाउ तय गरिसकेको छ। नयाँ व्यवस्था अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ दस्तुर तोकिएको छ।
त्यसैगरी मिनीबस, मिनी टिपर र मिनी ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क लाग्नेछ। बस र ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। मल्टिएक्सल ट्रक, भारी सवारीसाधन र भारी उपकरणका लागि भने काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।