विचार फेसबुक-एक्समा खुम्चियो, मुलुक निर्वाचित अधिनायकवादतर्फ धकेलिँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
175
Shares
काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा दर्शन, वैचारिक बहस र सैद्धान्तिक विमर्श क्रमशः साँघुरिँदै सामाजिक सञ्जालका छोटा अभिव्यक्तिमा सीमित हुन पुगेको बताएका छन्। उनले मुलुकमा विचार र संस्थाभन्दा ‘तारणहार’ व्यक्तिको भाष्य स्थापित गर्ने प्रयास भइरहेको आरोप पनि लगाए।
बुधवार आयोजित ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै ज्ञवालीले भारतका चर्चित दार्शनिक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै नेपालमा पनि दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी परेको टिप्पणी गरे।
उनका अनुसार गम्भीर वैचारिक प्रश्नहरू फेसबुकका पोस्ट र एक्सका छोटा सन्देशमा खुम्चिँदै गएका छन्।
उनले समाजको मुक्ति र देशको विकास विचार, संस्था र प्रणालीबाट नभई कुनै एक ‘अद्भुत व्यक्ति’ले गरिदिन्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाए।
यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँदै व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुर्याइरहेको उनको भनाइ थियो।
ज्ञवालीले मुलुक पपुलिजम, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको चपेटामा परेको दाबी गर्दै राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक अभ्यासमाथि संकट गहिरिँदै गएको बताए।
वर्तमान सरकार लोकप्रिय मतबाट निर्वाचित भए पनि व्यवहारमा ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भइरहेको उनको आरोप छ।
उनले ट्रेड युनियन अधिकार कमजोर पारिएको, विद्यार्थी आन्दोलनले विगतमा हासिल गरेका अधिकार कटौती गरिएको तथा विभिन्न माध्यमबाट नागरिकलाई त्रसित बनाउने प्रयास भइरहेको दाबी गरे।
सुकुमवासीहरूको समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै उनले मुलुक असाधारण संकटको चरणमा प्रवेश गरिरहेको बताए।
ज्ञवालीले वर्तमान चुनौतीको सामना गर्न देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगको सहकार्य र एकता आवश्यक रहेको धारणा राखे।
उनका अनुसार विचार, लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्न व्यापक राजनीतिक तथा वैचारिक संवाद अपरिहार्य बनेको छ।