काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकले आफ्नो पहिलो मुख्य कोष सङ्कलन (फन्डिङ राउन्ड) चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढीको मूल्याङ्कन प्राप्त गरेको छ। यस अभूतपूर्व मूल्याङ्कनले विश्व एआई बजारमा कम्पनीको तीव्र उदय र बलियो उपस्थितिलाई प्रमाणित गरेको छ।
लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन्। सन् २०२५ मा अत्यन्तै कम लागतमा तयार पारिएको अत्याधुनिक च्याटबोट सार्वजनिक गरेर विश्वलाई चकित पारेको डिपसिकले अमेरिकी प्रविधि कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको थियो। एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित यस कम्पनीले यसै वर्ष अप्रिलमा आफ्नो नयाँ एआई मोडेल समेत सार्वजनिक गरिसकेको छ।
वाल स्ट्रिट जर्नल र ‘द इन्फर्मेसन’ का अनुसार डिपसिकले पछिल्लो चरणमा ५० अर्ब युआन (करिब ७ अर्ब ४० करोड अमेरिकी डलर) भन्दा बढी पूँजी जुटाएको छ। यही फन्डिङ राउन्डले नै कम्पनीको बजार मूल्याङ्कनलाई ५० अर्ब डलरभन्दा माथि पुर्याएको हो। यद्यपि, यस विषयमा टिप्पणी गर्न एएफपीले गरेको अनुरोधको डिपसिकले कुनै जवाफ दिएको छैन।
एआई उद्योगमा अत्याधुनिक मोडेलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ, जसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ। तथापि, विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडेललाई कसरी स्पष्ट बनाउने भन्नेमा सङ्घर्षरत रहेको विश्लेषकहरूको भनाइ छ।
वासिङ्टनले डिपसिकको नयाँ एआई मोडेललाई चीनकै सबैभन्दा उन्नत प्रविधिमध्ये एक मानेको छ। तर यो अमेरिकी कम्पनीहरूको तुलनामा करिब आठ महिना पछाडि रहेको मूल्याङ्कन गरिएको छ।
अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप 'एन्थ्रोपिक' को मूल्याङ्कन हालैको फन्डिङ राउन्डपछि करिब ६५ अर्ब डलर पुगेको छ भने च्याटजीपीटी निर्माता 'ओपनएआई' को मूल्याङ्कन मार्चमा करिब ८ खर्ब ५२ अर्ब डलर रहेको उल्लेख छ। यी दुवै अमेरिकी कम्पनीहरूले हालै सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सूचीकृत हुने तयारी थालेका छन्, जसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्।
रिपोर्टअनुसार डिपसिकका संस्थापक लियाङ वेनफेङले व्यक्तिगत रूपमा करिब २० अर्ब युआन लगानी गरेका छन्। उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण आफैँसँग कायम राख्ने एउटा अनौठो लगानी संरचना तयार पारेका छन्।
यसैगरी चीनको सरकारी समर्थन प्राप्त 'नेसनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फन्ड' ले यसमा करिब एक अर्ब युआन लगानी गरेको छ। यसका साथै टेनसेन्ट, जेडी डटकम र नेटइज जस्ता ठूला चिनियाँ प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताका रूपमा सहभागी रहेका छन्। ती कम्पनीहरूले भने यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।