भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने विशेषको आदेश
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
203
Shares
काठमाडौँ । अर्बौँ रुपैयाँको वित्तीय अपचलन र सम्पत्ति शुद्धीकरण अभियोग लागेका बिचौलिया दीपक भट्ट र नामुद व्यवसायी सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बुधबार बयान र दुवै पक्षको थुनछेक बहस सकिएलगत्तै अदालतले उनीहरूलाई तत्कालै कारागार चलान गर्न आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, नारायण प्रसाद कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मिसिलमा संलग्न प्रमाणहरूका आधारमा अभियुक्तद्वयलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निष्कर्ष निकालेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनलाई आधार बनाउँदै विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार मात्रै उनीहरूविरुद्ध कुल ५१ अर्ब रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । जसमा भट्टको भागमा २६ अर्ब र अग्रवालको भागमा २५ अर्ब रुपैयाँ बिगो कायम गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि राजनीतिक तथा प्रशासनिक शक्तिको दुरूपयोग गर्दै बीमा, धितोपत्र (शेयर बजार) र बैंकिङ क्षेत्रमा गम्भीर कसुर गरेर अवैध धन आर्जन गरेको र सोही कालो धनलाई विभिन्न व्यवसायमार्फत शुद्धीकरण गरेको सङ्गीन आरोप छ। उनीहरूविरुद्ध यसअघि नै जिल्ला अदालतमा बीमा र धितोपत्रसम्बन्धी तथा उच्च अदालतमा बैंकिङ कसुरका छुट्टाछुट्टै मुद्दाहरू दर्ता भई प्रक्रियामा रहेका छन्।
सरकारी निकायहरूको संयुक्त छानबिनबाट उनीहरूले राज्यका विभिन्न वित्तीय प्रणाली भत्काएर अर्बौँको अपचलन गरेको पुष्टि भइसकेको छ भने विभागले उनीहरूको रैथाने तथा अन्य गुप्त कारोबारहरूमाथि पनि अनुसन्धानको सुई सोझ्याइरहेको छ।