नेपालमा यस वर्ष ४५ वर्षयताकै सर्वाधिक प्रि-मनसुन वर्षा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
246
Shares
काठमाडौँ । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९।७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य अवस्थाको औसत २२६।३ मिलिमिटरको १४५।५ प्रतिशत हो।
विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि-मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु अत्यधिक सक्रिय हुनु तथा गर्मी बढेका कारण यस वर्ष बढी वर्षा भएको जानकारी दिए।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९।७७ मिलिमिटर वर्षा प्रि-मनसुन अवधिको उपलब्ध अभिलेखमा सबैभन्दा बढी हो। यसअघि सन् १९९० मा ३३१।४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो। त्यस्तै, सन् २००० मा ३२३।१९ मिलिमिटर, सन् २०२१ मा ३१७।८८ मिलिमिटर र सन् २०२० मा ३१५।७८ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ। यस वर्षको वर्षाले ती सबै पूर्ववर्ती रेकर्डहरूलाई उछिनेको विभागले जनाएको छ।
प्रि-मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्ने विभागको अनुमान छ। यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको पाइएको छ। विभागका अनुसार यस वर्षको प्रि-मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई हालसम्मकै सबैभन्दा उच्च रेकर्डका रूपमा दर्ता भएको छ।