प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
120
Shares
तस्बिर फाइल
काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।
त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकमा सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विनियोजन शीर्षकमाथि राखेका खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो।
अर्थमन्त्री डा वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए। विनियोजन विधेयकका विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि यही असार १ र २ गते संसद्मा सघन छलफल भएको थियो। सो छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ बुधबार र बिहीबार सम्बन्धित मन्त्रीहरूले दिएका थिए।
विधेयक पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। अब अर्को बैठक आगामी असार ५ गते शुक्रबार बिहान ११:०० बजे बस्नेछ।