रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगे लिङ्देन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
196
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताए। गत निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको र जनताको विशिष्ट चाहनाको प्रतिनिधित्व गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु एक जिम्मेवार राजनीतिक नेताको कर्तव्य भएको उनको भनाइ थियो। उनले रास्वपाको यस अवसरमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीवोधको प्रतीक भएको समेत उल्लेख गरे।
सोही क्रममा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राप्रपाको आगामी महाधिवेशनका बारेमा समेत महत्त्वपूर्ण जानकारी दिए। आम निर्वाचनका कारण केही समय पछि सरेको राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते गर्ने निर्णय भएको उनले स्पष्ट पारे।
उक्त महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना, नीति निर्माण र विगतको समीक्षा गर्ने उनको भनाइ छ। महाधिवेशन नै राजनीतिक दलको महत्त्वपूर्ण वैचारिक र साङ्गठनिक थलो भएकाले सबै नीतिगत निर्णयहरू त्यहीँबाट हुने उनले बताए।
पार्टीभित्रको आन्तरिक असन्तुष्टि र केही नेताहरूको बहिर्गमनका विषयमा टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि सदस्यले पार्टी छाड्नु दुःखद् पक्ष भएको बताए। गत आम निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा फरक मत राख्ने केही नेताहरू हाल पार्टीबाट बाहिरिएको उनले स्पष्ट पारे।