भरतपुरमा ट्रकसँग स्कूटर ठोक्किँदा दुई युवाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
153
Shares
चितवन । चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक गएराति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका-२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ छन्।
प्रहरीका अनुसार भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र. ०६-००४ प ७२४८ नम्बरको स्कूटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कूटर चालक भण्डारी र पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा आज बिहान करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका-३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।