एघार महिनामा वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो
व्यापार घाटा १६ खर्ब नाघ्दा अर्थतन्त्र अझै आयातमुखी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
181
Shares
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहलाे ११ महिनामा नेपालको कुल वैदेशिक व्यापारमा १४.७८ प्रतिशतको वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार समीक्षा अवधिमा देशको कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। वैदेशिक व्यापारको आकार बढे पनि आयातको तुलनामा निर्यातको अङ्क निकै सानो हुँदा देशको व्यापार घाटा भने अझ फराकिलो बन्दै गएको देखिन्छ।
समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो। त्यसैगरी निर्यात पनि १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो। आयातको तुलनामा निर्यातको वृद्धि दर कम रहँदा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको यसै अवधिमा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँमा सीमित थियो।
यो तथ्याङ्कले नेपालको अर्थतन्त्र अझै पनि अत्यधिक परनिर्भर र आयातमुखी रहेको स्पष्ट पारेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा मात्रै ८७.२० प्रतिशत सञ्चित हुँदा निर्यातको हिस्सा १२.८० प्रतिशतमा खुम्चिएको छ । जुन अघिल्लो वर्ष १३.०८ प्रतिशत रहेको थियो।
यसै अवधिमा देशको आयात–निर्यात अनुपात ६.६४ बाट बढेर ६.८१ पुगेको छ । जसको अर्थ नेपालले प्रत्येक १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु विदेशबाट आयात गरिरहेको छ। वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्दै जानुले स्वदेशी उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि राज्यले थप प्रभावकारी नीति लिनुपर्ने टड्कारो आवश्यकता देखाउँछ।