बाख्रालाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
237
Shares
रौतहट । रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर टोलस्थित भित्री सडक खण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि चपुर हस्पिटल पुर्याइएकोमा चिकित्सकले बुधबार बेलुकी ७ः५५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हरि नगरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) रामेश्वर महतोको कमान्डमा टोली घटनास्थल खटिएको थियो ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी हरिनगरले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।