काठमाडौँ । पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बनेको वीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी पुनर्निर्माणकार्यले गति लिएको छ। वर्षायाम सुरु भइसकेकाले अबको केही दिनमै अर्थात् असार १५ गतेदेखि नै पुनर्निर्मित नयाँ ट्रयाकबाट सवारी आवागमन गराउने गरी तीव्र तयारी भइरहेको छ। पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने यो सबैभन्दा छोटो दूरीको राजमार्ग हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेल हाल्ने तथा केही ठाउँमा ठुला ढुङ्गा (बोल्डर) राखेर सडकको जग बलियो बनाउने काम भइरहेको छ। डिभिजन प्रमुख सुमन योगेशका अनुसार चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीको खण्ड तयारी अवस्थामा छ।
अब रोशी खोलामा बाढी आइहाले पनि अस्थायी डाइभर्सनको भर पर्नुपर्ने छैन र नयाँ ट्रयाकको माथिल्लो भागबाटै गाडी चलाउन सकिनेछ। हाल वर्षाअघि सडकलाई खोलाको सतहभन्दा ७ मिटरसम्म उचाइ उठाइएको छ भने वर्षायाम सकिएपछि १० मिटर उचाइ पुर्याएर आगामी आर्थिक वर्षमा कालोपत्रे गरिनेछ।
राजमार्गको कुल २९.५ किलोमिटर क्षतिग्रस्त खण्डमध्ये नेपालतर्फ चारवटा प्याकेज बनाएर काम भइरहेको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किमी खण्ड खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा र नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९० किमी खण्ड खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले ६१ करोड रुपैयाँमा ठेक्का लिएर काम गरिरहेका छन्।
बाँकी रहेको बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा पुनर्निर्माण गरिरहेको छ। सरकारले यो सम्पूर्ण पुनर्निर्माणका लागि कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ।
अबको स्थायी पुनर्निर्माणमा वीपी राजमार्गको यो खण्डलाई दुई लेनको बनाइने योजना छ। सडक चौडा पार्नुका साथै यस खण्डमा रहेका ५ वटा पुलहरूलाई समेत दुई लेनमा परिणत गरिने डिभिजन प्रमुख योगेशले जानकारी दिए। हाल सम्भावित जोखिम र निर्माणकार्यको सहजताका लागि साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ।
जापान सरकारको अनुदान सहयोगमा विसं २०५३/०५४ देखि निर्माण सुरु भई २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको १६० किमी लामो यो राजमार्ग गत २०८१ असोजको भीषण बाढीपहिरोका कारण भकुन्डेबेँसीदेखि नेपालथोकसम्म क्षतविक्षत भएको थियो।