काठमाडौँ । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका अवसरमा आज देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा धार्मिक परम्पराअनुसार तुलसीको बीउ (दल) राखेका छन्। हिन्दु धर्म संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र, पूजनीय एवं औषधीय गुणले युक्त वनस्पतिका रूपमा लिइने भएकाले आजको दिन घरको मठमा बीउ राखी भगवान् विष्णुको विशेष आराधना गर्ने गरिन्छ।
आज निर्जला एकादशीका दिन राखिएको दलबाट उम्रिएका साना बिरुवाहरूलाई करिब एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठ वा गमलामा सार्ने (रोप्ने) प्रचलन रहेको छ। हरिशयनी एकादशीकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने र तिहारको हरिबोधनी एकादशीका दिन ब्युँझने धार्मिक विश्वास छ।
वर्षभरि पर्ने २४ वटा एकादशीहरूमध्ये निर्जला एकादशीलाई सबैभन्दा महत्वपूर्ण र कठिन एकादशीका रूपमा हेरिन्छ। आजको दिन पानीसमेत नपिई (निर्जल) व्रत बस्नाले वर्षभरिका अन्य सबै एकादशीको व्रत सरह फल मिल्ने जनविश्वास रहेको छ। गर्मी मौसमको यस विशेष दिनमा भगवान् विष्णुलाई प्रिय लाग्ने तुलसीको बीउ रोप्नुका साथै तिर्खाएका मानिस र प्राणीहरूलाई सर्वत तथा गहुँको सातु दान गर्ने परम्परा समेत रहिआएको छ।