arrow

वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प छैन, संविधानलाई बाँदरको हातमा नरिवल बन्न नदिऔँ : खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
jhalnath-14.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले देशमाथि बढ्दो वैदेशिक दबाब र आन्तरिक सङ्कटको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।

कार्यक्रममा लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयुक्त उपस्थितिलाई सकारात्मक सङ्केत मान्दै नेता खनालले विचारको स्तरबाट सुरु भएको यो सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्न आग्रह गरे। विगतमा वैचारिक मतभेदका कारण एकता कायम राख्न नसकिए पनि अब परिस्थितिले वामपन्थीहरूलाई एक ठाउँमा आउन बाध्य पारेको उनको भनाइ थियो। सोही क्रममा उनले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहलाई 'तानाशाही' को संज्ञा दिँदै यस्ता प्रवृत्ति विरुद्ध एकजुट हुन जरुरी रहेको उल्लेख गरे।

अर्को प्रसङ्गमा नेता खनालले देशको वर्तमान संविधान र गणतन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरे। संविधान एक गतिशील दस्तावेज भए पनि स्थापित संवैधानिक संयन्त्र र मापदण्ड बाहिर गएर 'अनाडी' हरूको संलग्नतामा गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने तर्क उनले गरे। "संविधानलाई परिष्कृत र परिमार्जित गर्नुपर्छ, तर यसलाई बाँदरको हातमा नरिवल बन्न दिनु हुँदैन," उनले सचेत गराए।

मुलुक गम्भीर राजनीतिक र राष्ट्रियताको सङ्कटतर्फ धकेलिँदै गएको दाबी गर्दै नेता खनालले देशलाई यो संकटबाट मुक्त गर्ने वास्तविक शक्ति वामपन्थी नै भएको जिकिर गरे। उनले सम्पूर्ण कम्युनिष्ट घटकहरूलाई विगतका कमजोरीहरू सच्याउँदै राष्ट्रियताको रक्षा र वैज्ञानिक समाजवादको मार्ग प्रशस्त गर्नका लागि आजकै दिनदेखि गोलबन्द हुन सार्वजनिक आह्वान समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ