वामपन्थी सहकार्यमा ढिलाइ गरे भयानक दुर्घटना हुन सक्छ: प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
224
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकका वामपन्थी र देशभक्त शक्तिहरूबिचको सहकार्य र एकतामा अब विल्कुलै ढिलाइ गर्न नहुने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
संयोजक दाहालले कतिपयले पार्टी एकताको विषयलाई लिएर अहिले नै अन्योल व्यक्त गरिरहेको भन्दै तत्कालका लागि साझा मुद्दाका आधारमा सहकार्यलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए। संसद्, सडक र चुनावी मोर्चामा मात्र नभई ट्रेड युनियन, विद्यार्थी सङ्गठन र सिमाना रक्षाका विषयमा पनि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए। गरिब, मजदुर र किसानका विरुद्ध भइरहेका चौतर्फी षडयन्त्रहरूलाई चिर्न वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको उनको तर्क थियो।
कार्यक्रममा बोल्दै उनले भने, "वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसमा ढिला गर्नु गम्भीर गल्ती हुनेछ। मैले कहीँ पनि भोलि नै वा बेलुकै पार्टी एकता गरिहाल्नू भनेको छैन। तर सहकार्य आजै सकिन्छ भने आजै, भोलि सकिन्छ भने भोलि नै गरिहालौँ। संसद्, सडक, चुनाव, ट्रेड युनियन, विद्यार्थी र सिमानाका विषयमा मिल्न सक्ने जतिले सहकार्य गर्न जति ढिलो गर्यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ।"
उनले सहकार्यमा हुने ढिलाइले मुलुकमा गम्भीर राजनीतिक र सामाजिक सङ्कट निम्त्याउन सक्ने सङ्केत गरे। राष्ट्रियताको रक्षा र जनताको अधिकार सुनिश्चित गर्नका लागि वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढ्नु नै वर्तमान समयको मुख्य आवश्यकता र दायित्व रहेको उनको निष्कर्ष थियो।