arrow

कालोसीसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
kalo-sisa-gadi.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा कानुनविपरीत कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गर्ने ५७ वटा सवारीचालकमाथि जरिबानासहित कारबाही गरेको छ। आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा ती सवारीसाधनहरू कारबाहीमा परेका हुन्।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले कानुनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेकाले नियम उल्लङ्घन गर्नेहरूमाथि निगरानी बढाइएको बताए। "कानुनविपरीत गाडीमा कालोसिसा प्रयोग गर्न पाइँदैन। आज मात्र ५७ वटा सवारीसाधनलाई कारबाहीसहित जरिबाना गरेका छौँ," एसएसपी काफ्लेले भने।

पछिल्लो समय निजी तथा सार्वजनिक सवारीसाधन, विशेषगरी माइक्रोबस र ट्याक्सीहरूमा कालोसिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान नै सञ्चालन गरेको जनाएको छ।

प्रहरीका अनुसार कालोसिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुन्छ। यसको आडमा साना हतियार, लागुऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार, फरार अपराधीको आवतजावत र विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएकाले यसमा कडाइ गरिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी कुनै पनि प्रकारको हेरफेर गर्न पाइँदैन। ट्राफिक प्रहरीले कानुनविपरीत कालोसिसा प्रयोग गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ