सरकारमा पुगेर कम्युनिष्ट नेता बिग्रिए भने त्यो सिद्धान्तको दोष हो र ? [भिडियो]
सरकारमा पुगेपछि नेताहरू पद र पैसाको प्रलोभनमा परेर बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको निजी दोष
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
237
Shares
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं वरिष्ठ नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरण र कमजोरीका आधारमा समग्र माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले व्यक्ति र सिद्धान्तलाई अलग-अलग रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए। उनले सरकारमा पुगेपछि नेताहरू पद र पैसाको प्रलोभनमा परेर बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको निजी दोष भएको प्रष्ट पारे।
पूँजीवादी शक्तिहरूले नेताको भ्रष्ट व्यवहारलाई देखाएर कम्युनिष्ट आन्दोलनकै औचित्य समाप्त भयो भन्दै चलाएको भ्रमपूर्ण हल्लाको पछि नलाग्न उनले सबैलाई आग्रह गरे।
नेता ज्ञवालीले भने, "सरकारमा पुगेर नेता बिग्रिए भने त्यो सिद्धान्तको दोष हो र? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि माक्र्सवादलाई दोष दिने? नेताहरू बिग्रिए भन्दैमा कम्युनिष्ट आन्दोलन नै खतम भयो भनेर जुन पूँजीवादीहरूले हल्ला मच्चाइरहेका छन्, त्यस्तो हल्लामा हामी नलागौँ। हो, अवश्य पनि हामीभित्र विकृति छ, हामी बिग्रिएका छौँ। को-को बिग्रिए, त्यो बिस्तारै थाहा हुँदै जान्छ। नेताहरूका दोष होलान्, मेरा पनि होलान्, तर कम्युनिष्ट पार्टी, माक्र्सवाद, जनताको बहुदलीय जनवाद (जबज) र वैज्ञानिक समाजवाद कहिल्यै असान्दर्भिक भइसकेका छैनन् र हुँदैनन् पनि।"
ज्ञवालीले नेपाली समाजको रूपान्तरण, सामाजिक न्याय र सर्वहारा वर्गको हितका लागि कम्युनिष्ट आन्दोलन, माक्र्सवादी विचार तथा वैज्ञानिक समाजवादको बाटो अझै पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य रहेको दाबी गरे।