हात्तीपाइले परजीवीको अवस्था बुझ्न बालबालिकाको रगत परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
404
Shares
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवीको अवस्था पत्ता लगाउन विद्यालय तहका बालबालिकामा अध्ययन सुरु गरेको छ। केन्द्रले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने ६ र ७ वर्ष (सन् २०१९ पछि जन्मेका) उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी यो अनुसन्धान थालेको हो।
केन्द्रका निर्देशक डा. भीमप्रसाद सापकोटाका अनुसार ६५ जना स्वास्थ्यकर्मीको विशेष टोलीले विद्यालयमै पुगेर बालबालिकाको रगतको नमुना सङ्कलन गरिरहेका छन्। जसअन्तर्गत इलाम र पाँचथरमा १ हजार ५७० तथा तेह्रथुममा १ हजार ४१० जना विद्यार्थीको रगत परीक्षण गरिनेछ। यी जिल्लाहरूमा स्थानीय बासिन्दाले छ पटक हात्तीपाइले विरुद्धको औषधि खाइसकेपछि, औषधि नखाएका नयाँ पुस्ताका बालबालिकामा परजीवीको सङ्क्रमण सरेको छ या छैन भनी हेर्न यो अध्ययन गरिएको हो।
हात्तीपाइले रोग मसिनो धागो आकारको जुकाजस्तो परजीवीका कारण हुने गर्दछ, जुन क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा प्रवेश गर्छ। नेपालमा मुख्य रूपमा 'उचेरेरिया ब्याक्रोफ्टी' नामक परजीवी मात्र फेला परेको डा. सापकोटाले बताए। हाल देशका ६३ जिल्ला हात्तीपाइलेबाट प्रभावित रहेको र आगामी आर्थिक वर्षमा जोखिममा रहेका अन्य जिल्लाहरूमा पनि यो अध्ययनलाई विस्तार गरिने केन्द्रले जनाएको छ।