काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाहरू सम्पन्न गर्नका लागि दुई अर्ब रुपैयाँ बजेट छुट्टाएको छ। मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमअन्तर्गत ३९ जिल्लामा रहेका अधुरा योजनाहरूलाई निरन्तरता दिन यो बजेट विनियोजन गरेको हो।
मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडकको आवश्यकता र योजनाको प्रकृति हेरेर बजेट बाँडफाँट गरेको छ। जसअनुसार कञ्चनपुर जिल्लामा रहेका अधुरा सडक निर्माणका लागि १४ करोड ५० लाख रुपैयाँ छुट्टाएको छ। त्यस्तै, अछाम जिल्लाका अधुरा सडकका लागि १० करोड र मकवानपुरका अधुरा योजनाका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी, मोरङ जिल्लाका सडक योजनाहरूका लागि १३ करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। मन्त्रालयले रणनीतिक सडकका यी अधुरा योजनाहरूलाई पूर्णता दिनका लागि आवश्यकताका आधारमा न्यूनतम ३० लाख रुपैयाँदेखि अधिकतम १४ करोड ३० लाख रुपैयाँसम्म रकम विनियोजन गरेर काम अघि बढाएको छ।