विद्यालयलाई दलीयकरणबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्र सुध्रिँदैन: गगन थापा [भिडियो]
एसईई र कक्षा १२ को परीक्षाफलका त्रुटि र विद्यार्थीका समस्याबारे सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
255
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयहरूलाई दलगत प्रभाव र दलीयकरणबाट पूर्ण रूपमा मुक्त गर्न जरुरी रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सभापति थापाले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरण र दलीयकरण नै सुधारको बाधक बनेको औँल्याए। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक (प्रअ) र शिक्षक नियुक्तिसम्म पनि दलगत आस्थाका आधारमा गरिने गलत प्रवृत्तिले गर्दा मुलुकको सार्वजनिक शिक्षा प्रणाली धराशायी बनेको उनको भनाइ छ। यद्यपि, शिक्षा आफैँमा एक महत्त्वपूर्ण राजनीतिक मुद्दा भएकाले देशको समृद्धिका लागि यसको भूमिकाबारे संसद् र राजनीतिक वृत्तमा गम्भीर बहस हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा बोल्दै उनले भने, “हामीकहाँ शिक्षामा राजनीति भयो भनिन्छ, तर म भन्छु शिक्षामा राजनीति होइन, दलीयकरण भयो। हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र प्रधानाध्यापक पनि आफ्नै पार्टीको मान्छे चाहिने प्रवृत्ति हाबी भयो। गाउँघरमा विद्यालयको अवस्था कस्तो छ भन्दा ‘अध्यक्ष र हेडसर हाम्रै मान्छे हो’ भन्ने जवाफ आउँछ। यो सोचबाट हामी बाहिर निस्कनुपर्छ। दलीयकरणले शिक्षामा सबैभन्दा ठुलो समस्या ल्याएको छ, यसलाई बाहिर निकाल्नै पर्छ। तर शिक्षा आफैँमा एउटा राजनीतिक इस्यु हो। हामीले सोचेको समुन्नत नेपालको सपना पूरा गर्न शिक्षाले कहाँनेर योगदान दिन सक्छ, त्यसमा व्यापक छलफल हुनुपर्छ।”
यसैगरी सभापति थापाले परीक्षाफल प्रकाशनका सन्दर्भमा सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। सरकारले हतार-हतार नतिजा प्रकाशन गर्नु र छिटो नतिजा आउनुलाई नै ठुलो उपलब्धि ठान्ने मानसिकताले गर्दा हजारौँ विद्यार्थीहरू प्राविधिक र व्यावहारिक समस्यामा परेको उनले बताए। उनले हालै सार्वजनिक भएको कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षाफलको सन्दर्भमा देखिएका त्रुटि र विद्यार्थीका समस्याबारे संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरे।